सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढी

काठमान्डाैं / सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढीरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरका एक हजार ३०० सूचीकृत गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करीब एक लाख महिलाले गर्भपतन गराएका थिए । तीमध्ये ११ प्रतिशत त किशोरी नै रहेका छन् ।

मातृ मृत्युको प्रमुख चार कारणमध्ये असुरक्षित गर्भतन एक मानिन्छ । सरकारले गर्भपतन सेवा निःशुल्क गरेको छ । औषधि र सामान्य शल्यक्रियाका माध्यमबाट गर्भपतन गराइन्छ । हाल १२ हप्तामाथिको गर्भपतन सेवा देशका २९ अस्पतालमा मात्र उपलब्ध रहेको छ ।

पाँचौँ सुरक्षित गर्भपतन दिवसका अवसरमा आज महाशाखाद्वारा यहाँ आयोजित कार्यक्रममा महाशाखाका प्रमुख भीमसिंह तिङ्करीले सुरक्षित गर्भपतन सेवा २०६९ सालदेखि शुरु भएपछि हालसम्म १३ लाखले सुरक्षित गर्भपतनको सेवा लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गर्भपतन सेवा निःशुल्क छ भन्ने सेवा आवश्यक भएकालाई जानकारी छैन । यसैले असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको होे । यसलाई रोक्न आवश्यक छ ।”

असुरक्षित गर्भपतनका कारण विभिन्न रोगका जटिलता आउने गर्दछ । असुरक्षित गर्भपतन जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा प्रजनन् उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्ष मुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।

गत वर्ष नेपालमा करीब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशत अर्थात पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेको महाशाखा प्रमुख चिकित्सक तिङ्करीले कार्यक्रममा जानकारी दिनुभयो । साठ्ठी वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रतिशतमाथि उक्लिन सकेको छैन । कार्यक्रममा महाशाखाका चिकित्सक पुण्य पौडेलले सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार गर्न महाशाखाले प्राथमिकता दिएको जानकारी दिँदै स्थानीय तहका स्वास्थ्य संस्थालाई थप सुदृढीकरणको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले सुरक्षित गर्भपतन सेवाका बारेमा जनचेतनाका कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले असुरक्षित गर्भपतनका कारण अकालमा मृत्यु नहोस् भन्नाका लागि सबैले ध्यान दिन र सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित