जब क्याम्ब्रिजका संस्थापक नुवाकोटको दुर्गम क्षेत्रको आधारभुत विद्यालयमा कम्प्युटर बोकेर गए

नुवाकोट / क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले नुवाकोटको एक आधारभूत विद्यालयलाई आधुनिक कम्प्युटरसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेका छन् ।

आइतबार नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ पोखरीआलस्थित हस्तिकेश्वर बैयाकर्ण लिलाकर्ण आधारभूत विद्यालयमा नै पुगेर उनले विद्यालय तथा त्यहाँका विद्यार्थीलाई २ थान कम्प्युटर र प्रिन्टर साथै अध्ययनरत ५४ विद्यार्थीलाई ट्रयाक सुट प्रदान गरेका हुन् । नुवाकोटकै विकट गाउँपालिकाको सो विद्यालयमा भौतिक तथा शैक्षिक पूर्वाधारको अभावले विद्यार्थीहरुले सकसपूर्ण तवरले अध्ययन गरिरहेका छन् ।

शिशिर सिंखडाले आइतबार अबेर विद्यालय परिसरमा कम्प्युटर र विद्यार्थीलाई चाहिने ट्रयाक सुट बोकेर पुग्दा उनलाई विद्यार्थी, शिक्षक तथा विद्यालय ब्यवस्थापन समिति कुरेर बसेका थिए । स्थानीय युवा समाजसेवी सानु श्रेष्ठ तथा विद्यालयकी शिक्षिका कमला श्रेष्ठको संयोजनमा अबेर विद्यालय प्राङगणमा पुगेका शिशिर सिंखडालाई विद्यार्थी, शिक्षक तथा विद्यालय ब्यवस्थापन समितिले न्यानो स्वागत गरेका थिए । विद्यालय र विद्यार्थीलाई सहयोग आउँदैछ भनेर विहानै देखि बाटो हेरेर पर्खिएका विद्यार्थी, विद्यालय ब्यवस्थापन समिति तथा शिक्षकहरु अबेरसम्म झर्को नमानी पर्खिएर बसेका थिए ।

कक्षा १ देखि ४ सम्म पढाई हुने उक्त विद्यालयमा बैज्ञानिक शिक्षा त परको कुरा विद्यार्थीलाई चाहिने सिकाईका आधारभूत तत्व र आरामसँग बस्ने डेक्स बेञ्च समेत छैन । यस्तोमा शिशिर सिंखडाले प्रदान गरेको २ थान कम्प्युटर र प्रिन्टरले विद्यार्थीलाई प्राविधिक शिक्षाको आधारभूत जानकारी दिने अपेक्षा गरिएको छ ।

‘हामी कहाँ कमजोर आर्थिक अवस्था भएका दलित वस्तीका बालबालिकाहरु अध्ययन गर्नुहुन्छ । आधारभूत विद्यालय भएकोले शैक्षिक तथा भौतिक पूर्वाधारको अभाव छ, शिशिरजी र उहाँको संस्थाले प्रदान गर्नुभएको यो सहयोग बालबालिकालाई प्राविधिक शिक्षा प्रदान गर्न महत्वपूर्ण हुनेछ । हामी उहाँप्रति आभारी छौं ।’ विद्यालयका प्रधानान्यापक विष्णु अधिकारीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि ३ नं. वडाका वडाध्यक्ष सुर्यमान श्रेष्ठले विद्यालय रहेको क्षेत्र नुवाकोटकै दुर्गम र पिछडिएको क्षेत्र भएकोले राज्यले यहाँका बालबालिकालाई आधुनिक शिक्षा दिन नसकेको अवस्थामा निजी क्षेत्रबाट एउटा ब्यक्ति आएर सहयोग गर्दा अत्यन्त खुसी लागेको बताए । ‘राज्यले गरेन भनेर हामी नागरिक चुप लागेर मात्र बस्नु भएन, आफ्नो क्षेत्रबाट यस्ता विद्यालय र विद्यार्थीलाई सहयोग गरे स–साना बालबालिकाको भविष्य उज्वल हुन्छ । काठमाडौंदेखि आएर शिशिरजीले जुन सहयोग गर्नुभयो यो ज्यादै अनुकरणीय छ ।’ उनले भने । उनले सबैले आ–आफ्ना क्षेत्रबाट विद्यालयलाई सहयोग गरे बालबालिकाको पढ्न पाउने अधिकार सुरक्षित हुने बताए ।

कार्यक्रममा स्कुल ब्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर भण्डारीले कम्प्युटर तथा विद्यार्थीका लागि ट्रयाक सुट प्रदान गर्ने शिशिर सिंखडालाई आभार ब्यक्त गर्दै सामुदायिक आधारभूत विद्यालय भएकोले आर्थिक तथा भौतिक अभाव रहेको जनाउँदै आगामी दिनमा पुनः सहयोगको अपेक्षा प्रकट गरे । नेपाल पत्रकार महासंघ नुवाकोटकी रुपा अर्याल, जालपा न्यूज अनलाईनका विष्णु अधिकारीले समेत शिशिर सिंखडाले गरेको कामको मुक्तकण्ठले प्रशंशा गरे ।

कम्प्युटर तथा ट्रयाक सुट हस्तान्तरण गरिएपछि विद्यालयको तर्फबाट दाता शिशिर सिंखडालाई सम्मान गरिएको थियो । उनलाई आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन गरेको सहयोगको उच्च मुल्यांकन गर्दै सम्मानीत गरिएको उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै शिशिर सिंखडाले ग्रामिण क्षेत्रमा रहेका बालबालिकालाई प्रविधियुक्त शिक्षा प्रदान गर्न निजी क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने बताए । मानव भएर मानवीयता प्रर्दशन गर्न नसके जन्मनुको सार नहुने भन्दै सिंखडाले आधुनिक नेपाल निर्माणमा प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहने भन्दै दुर्गम क्षेत्रमा प्रविधियुक्त शिक्षा पुर्याइनु पर्नेमा जोड दिए । ‘मान्छे राम्रो खाएर राम्रो लाएर मात्रै राम्रो हुँदैन । आफ्नो देश र समाजका लागि पनि केहि गर्न सक्नुपर्छ । भोलीका देशका कर्णधारलाई गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं ।’ उनले भने ।

२०५५ सालमा स्थापना भई गाउँका बालबालिकाहरुलाई शिक्षाको ज्योति छर्न सफल हस्तिकेश्वर बैयाकर्ण लिलाकर्ण आधारभूत विद्यालयमा अहिले ५४ जना बालबालिकाहरुले शिक्षा हासिल गरिरहेका छन् । एक जना गाउँपालिकाको स्रोतबाट र एक जना निजी स्रोतबाट शिक्षक ब्यवस्थापन गरेपनि आर्थिक अभावका कारण निजी स्रोतबाट राखिएको शिक्षकलाई तलब समेत दिन गाह्रो भइरहेको छ । आधारभूत विद्यालयको भौतिक पूर्वाधार छ । तर, सामान्य डेक्स बेञ्च नहुँदा विद्यार्थीहरु गुन्द्री र सुकुलमा बसेर अध्ययन गर्न बाध्य छन् । सिकाईका आधारभुत आवश्यक्ता समेत अभाव छ ।

शैक्षिक क्षेत्रमा सक्रिय युवा शिशिर सिंखडा सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । पूर्वी नेपालको संखुवासभामा जन्मिएर झापा हुँदै हाल राजधानी काठमाडौं बासी भएका शिशिरको समाजसेवा प्रति सानैदेखिको लगाव हो । सामान्य आर्थिक अवस्था भएका शिशिरले करियर निर्माणमा ठूलो संघर्ष गरे । स्वदेशदेखि विदेशसम्म आइपरेका अनेक दुखःकष्टलाई जीवनको मार्गदर्शन बनाएर अघि बढेका क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक शिशिरले ब्यवसायीक सफलता प्राप्त गरेसँगै सामाजिक, शैक्षिक क्षेत्रमा धेरै काम गरेका छन् । सफलता प्राप्त गर्नका लागि संघर्ष गर्नुपर्दछ भन्ने मूल मन्त्रका साथ अघि बढेका शिशिरको आर्थिक अवस्था मध्यम नै हो तर, उनको ह्दय भने विशाल छ । उनीमात्र हैन उनका परिवारको नै सामाजिक काम प्रतिको लगाव लोभलाग्दो छ ।

उच्च शिक्षाकालागि विदेश जाने युवाहरुलाई शैक्षिक परामर्श संगै उनीहरुलाई करियर काउन्सेलिङ गर्दै आएका शिशिर सिंखडाले खासगरी गरिब, अनाथ असहाय तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थी तथा परिवारलाई सहयोग गर्ने गर्दछन् । उनले कतिपय आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अर्बोड स्टडीमा आफ्नै खर्चमा पठाएका छन् ।

उनी आफ्नो तथा आफ्नो परिवारमा कसैको जन्मदीन छ भने, त्यो जन्मदीनमा केक काटेर महंगो पार्टी गर्नुको सट्टा सामाजिक संघसंस्था, अनाथ बालबालिका आश्रम, सेवाघरहरुमा गएर उनीहरुको आवश्यक्तामा थोरै भएपनि सहयोग गर्दछन् । केहि महिना अघि आफ्नो जन्मदीनमा भक्तपुर स्थित सेवाघरमा आश्रित बृद्ध आमाबुबाहरुलाई खाद्यान्न सहयोग गरेका उनले आफ्नो छोराको जन्मदीनमा पनि यस्तै सामाजिक काम गर्ने गर्छन् ।

‘जन्मदीन, कुनै खुसीको अवसरमा जाँड रक्सी खाएर महंगो पार्टी गरेर खर्च गर्नुको सट्टा मलाई यस्तै सामाजिक काम गर्न मन लाग्छ । कमजोर र असहायको सेवाबाट प्राप्त हुने आनन्द जाँडरक्सी खाएर पाउने आनन्दभन्दा कयौं गुणा शक्तिशाली हुँदोरहेछ ।’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित