स्वास्थ्यचौकी भवनमा पानी जमेपछि सेवा प्रवाहमा समस्या

खोटाङ / स्वास्थ्यचौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । करीब २७ वर्षअघि निर्माण गरिएको भवन जीर्ण हुँदा वर्षात्को पानी छानाबाट चुहिने र भित्तातर्फको पर्खालबाट निस्कने पानी भुँइमा जमेर हिलाम्मे भएपछि सेवा प्रवाहमा समस्या भएको हो । जीर्ण भवनमा निरन्तरको वर्षाका कारण पानी जमेकाले टेबलकुर्सी यताउता सार्दै दैनिक सेवा दिइरहेको स्वास्थ्य सहायक सन्तोष भट्टराईले बताउनुभयो । “जीर्ण अवस्थामा पुगेको भवनको कोठा पनि साँघुरो छ”, उहाँले भन्नुभयो, “त्यहीमाथि आकाशबाट परेको पानी जमेर हिलाम्मे बनेकाले सेवा प्रवाहमा समस्या भएको छ ।”

जीर्ण अवस्थामा पुगेको भवनको कोठासमेत होचो छ । भित्तासमेत लिपपोत गरिएको छैन । एउटा कोठाबाट बहिरङ सेवा तथा गर्भवती महिलाको गर्भ जाँच र अर्को कोठाबाट खोप तथा ड्रेसिङको काम सञ्चालन हुँदै आएको पाइएको छ । तत्कालीन गाविस अध्यक्ष राजकुमार राईको पहलमा विसं २०४९ मा निर्माण गरिएको भवनको तीन कोठामध्ये एउटा कोठाबाट प्रशासन र भण्डारणको काम गर्ने गरिएको भट्टराईले बताउनुभयो । “भवनको कोठासमेत होचो छ”, उहाँले भन्नुभयो, “ढुङ्गा र माटोले बनेको भवनको भित्ता उप्किएर प्वाल परेको छ ।”

सुविधासम्पन्न भवन अभावमा गर्भ जाँचलगायत गोपनीयतासम्बन्धी सेवा प्रवाहमा ज्यादै कठिन भएको भट्टराईले बताउनुभयो । स्वास्थ्यचौकीमा एक स्वास्थ्य सहायक, दुई अहेब र दुई अनमी कार्यरत छन् । स्वास्थ्यचौकीको नाममा चार आना मात्र जग्गा भएकाले स्थानीयवासीबाट निःशुल्क जग्गा जुटाउने तयारी भइरहेको वडाध्यक्ष डिल्लीकुमार राईले बताउनुभयो । “नयाँ भवन निर्माण प्रक्रिया पनि थालिएको र आवश्यक जग्गा जुटाउने पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “तत्कालका लागि वडाको रु दुई लाख र नगरपालिकाको रु पाँच लाखमा मर्मत गर्ने तयारी गरिएको छ ।”

घनाबस्ती रहेको खाल्लेस्थित स्वास्थ्यचौकीमा अहिले मौसम परिवर्तनसँगै दैनिक आउने बिरामीको चापसमेत बढेको जनाइएको छ । भवन अभावमा सेवा प्रवाहमा समस्या भएपछि अधिकांश बिरामीलाई जिल्ला अस्पताल सिफारिस गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य सहायक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित