विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

बझाङ / छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भने, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको छ ।” छाउपडी प्रथाले गर्दा धेरै छात्राहरुले स्कूल छाड्नुपर्ने भएका कारण गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको अभियान चलाउँदै आएकोे उनले बताए ।

महीनावारी भएको बेला अधिकांश किशोरी विद्यालय आउन अप्ठेरो मान्ने गरेको उपप्रमुख जोशीले बताए । “महीनावारीका बेला भोग्नुपरेको समस्या थाहा छ, मैले एटिएम शौचालयको समाचारमा पढेर आफूले पनि गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने सोचका साथ काम गरेकी हूँ”, उनले विगत सम्झँदै भने ।

एटिएमसहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो, जिल्लाका अरु गाउँपालिका र नगरपालिका अभ्यासमा रहे पनि छविसपाथिभेरा गाउँपालिकाले भने शुरु गरिसकेको जोशीले बताए । महीनावारी हुने ५० छात्रालाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ । सेनिटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने उपप्रमुख जोशीले बताए । एटिएम कार्ड वितरण गर्दै उनले महीनावारीले गर्दा छात्रामा आउने समस्याको न्यूनीकरण गर्नका लागि गाउँपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले छात्रामैत्री कार्यक्रमलाई निरन्तरता दिने बताए ।

विद्यालयले पनि प्याडका लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्राध्यापक लोकेन्द सिंहले बताए । विद्यालयले प्याड खरीद गर्न महङ्गो हुने भएका कारण प्याड बनाउने तालीमसमेत दिइसकेको र अझै पुनर्ताजगी तालीम दिई अब आउँदा दिनमा गाउँघरमै उत्पादन गर्ने सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित