मन्त्रालयको निर्देशन बिपरित झापाका सामुदायिक बिद्यालय

बिर्तामोड / मुलुक संघीय संरचनामा गएसंगै शिक्षाको संरचना समेत परिर्वतन भएको छ । संघीय संरचनामा शिक्षालाई लगिएसंगै कक्षा १– ५ र १–८ लाई दुई चरणमा आधारभूत तथा कक्षा ९– १२ लाई माध्यमिक तह मानिएको छ । सरकारले कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क र अनिर्बाय भनेपनि कक्षा ९– १२ लाई भने निःशुल्क व्यवस्था गरेको छ । सरकारले शिक्षालाई संघीय संरचनामा लगेसंगै ११ – १२ कक्षालाई उच्च माविको सट्टा माध्यमिक तहमा रुपान्तरण गरेसंगै देशभरका सामुदायिक विद्यालयलाई दिवा सत्रमा कक्षा सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा मन्त्रालय अन्तरगत शिक्षा विभागले देशभरका सबै सामुदायिक विद्यालयलाई दिउँसो कक्षा सञ्चालन गर्न निर्देशन दिएपनि झापाका अधिकांश सामुदायिक विद्यालयले विभागको निर्देशन मानेका छैनन् ।

शिक्षा विभागले प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्यव इकाई मार्फत सबै सामुदायिक विद्यालयलाई दिउँसो कक्षा सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयले विभिन्न कारण देखाउँदै कक्षा ११– १२ लाई अहिले पनि विहानी सत्रमा नै कक्षा सञ्चालन गरिरहेका छन् । यो संगै सामुदायिक विद्यालयले विद्यार्थीबाट गैरकानूनी रुपमा मनोमानी ढंगले मासिक शुल्कको नाममा रकम असुली रहेका छन् । जबकी सरकारले नै कक्षा १२ सम्मलाई माध्यमिक तह बनाएर माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेको छ । तर, झापाका सबै विद्यालयले विद्यार्थीबाट आफूखुशी रकम असुल गरिरहँदा समेत सम्विन्धित निकाय स्थानीय सरकार,शिक्षा विकास तथा समन्वय इकाई मौन छन् । जसका कारण विद्यार्थी र अभिभावक मारमा छन् ।

शिक्षा विभागले सामुदायिक विद्यालयलाई दिएको निर्देशनमा विद्यालयको नियमित समय बिहान १० देखि ४ बजेसम्म कक्षा १ देखि १२ सम्म सञ्चालन गर्नुपर्नेछ भनिएको छ । तर, बिहान र दिउँसो सिफ्टमा विद्यालय सञ्चालन गरेर शिक्षकहरुले अहिले पनि दोहोरो सुविधा लिइरहेका छन् । कतिपय विद्यालयमा त खेताला शिक्षक समेत रहेका छन् । यस विषयमा नियमनकारी निकायले चासो नदिँदा शिक्षा क्षेत्रमा देखिएको विकृति झन् – झन् मौलाएर गएको छ ।

विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न प्रयत्न गरेपनि शिक्षककै लापरवाहीका कारण सामुदायिक विद्यालयले सोचे अनुरुपको नतिजा ल्याउन नसकेको शिक्षा मन्त्रालयका एक पदाधिकाीले बताए । उनले भने – ‘दोहोरो सुविधा लिन पल्किएका शिक्षककै कारण मन्त्रालयले एउटै सत्रमा कक्षा सञ्चालन गर्न भनेपनि सामुदायिक विद्यालयले अटेर गरिरहेका हुन् ।’एउटै सत्रमा पठनपाठन हुँदा सबै कक्षाकोठामा राम्रोसँग पठनपाठन हुन्छ उनले भने – तर विहानी र दिवा सत्रमा विद्यालय सञ्चालन गर्दा शिक्षकलाई मात्र फाइदा हुन्छ, विद्यार्थीलाई फाइदा हुँदैन ।

अहिले कक्षा १ देखि १० सम्म दिउँसो र कक्षा ११– १२ लाई बिहानी सत्रमै कक्षा सञ्चालन गर्दै आएको छ बिर्तामोड नगरपालिकाले पनि आफ्नो नगर भित्र रहेका सामुदायिक विद्यालयलाई । बिर्तामोड– ३ स्थित अनारमनी माध्यमिक विद्यालयले अहिले पनि कक्षा ११– १२ विहानी सत्रमै कक्षा सञ्चालन गरिरहेको छ । त्यस्तै अग्रेजी शिक्षाको नाममा कक्षा १ वाटै शुःक लिँदै आएको छ । यता देवी माध्यमिक विद्यालयलेले समेत विहानी सत्रमै कक्षा ११– १२कक्षा सञ्चालन गर्दै आएको छ ।

विभागले कक्षा ९ र १० का लागि नियुक्त पाएका योग्य र विषय मिलेका शिक्षकले ११– १२ मा पनि पढाउन पाउने व्यवस्था गरेको छ भने ११– १२ (उच्च मावि)तहमा नियुक्ति पाएका शिक्षकले तल्लोतहमा पनि पठन–पाठन गर्ने व्यवस्था गरेको छ । तर, कक्षा कक्षा ११– १२ पठन पाठन गराउने शिक्षक दिउँसो विद्यालय नै आउँदैनन् ।

कक्षा ११ – १२ लाई किन विहानी सत्रमा नै पठन पाठन गराइरहनु भएको छ भन्ने जिज्ञासामा आदर्श मावि घैलाडुब्बाका प्रधानाध्यापक धर्मानन्द निरौला भन्नुहुन्छ – कक्षा कोठाको अभावमा माविसम्म दिउँसो कक्षा सञ्चालन गर्नु पर्ने भएपनि विहानी सत्रमै कक्षा सञ्चालन गर्न बाध्य छौं । उनी मात्र होइन अधिकांश प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको भनाई एउटै हुन्छ ।

तर, कक्षा ११– १२ सम्मको कक्षा सञ्चालनको अनुमति लिँदा सवै विद्यालयले भौतिक संरचना पर्याप्त देखाउँदै अनुमति लिएका छन् । झापामा ५१ वटा सामुदायि विद्यालयले कक्षा ११– १२ सञ्चालन गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयप्रसाद महतले जानकारी दिनुभयो । महतका अनुसार सबै सामुदायिक विद्यालयलाई दिवा सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । तर, सामुदायिक विद्यालयले अटेर गरिरहेका छन् ।

यता हल्दिवारी गाउँपालिकाले र झापा गाउँपालिकाले भने कक्षा ११– १२ अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क निःशुल्क गरेको छ । विद्यालयले शुल्क लिएपनि गाउँपालिका आफैंले शुल्क व्यहोर्ने हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्वर गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले नै कक्षा १२ सम्मको शिक्षालाई निःशुल्कको व्यवस्था गरेको छ । तर, सामुदायिक विद्यालयले शिक्षक अपुग र निजी श्रोतमा शिक्षक राख्नु पर्ने जनाउँदै विद्यार्थीबाट पैसा लिइरहेका छन् , विद्यार्थीबाट लिइने शुल्क गाउँपालिकाले एक मुष्ट विद्यालयले प्रदान गर्न ।’

यता झापा गाउँपालिकालका प्रमुख जयनारायण साहले कक्षा ११– १२ अध्ययन गर्ने विद्यार्थीलाई प्रतिमहिना ५ सय रुपैयाँ गाउँपालिकाले प्रदान गर्ने बताउनुभएको छ । वाँकी रहेका सबै स्थानीयतहका सामुदायिक विद्यालयमा कक्षा ११– १२ मा अध्ययनरत विद्यार्थीले मासिक शुल्क बुझाउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित