स्वास्थ्य कार्यालयमा डेङ्गु जाँच गर्ने कीट सकियो

हेटौँडा / डेङ्गु सङ्क्रमणको कारण मकवानपुरमा दिनानुदिन बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ । सो कार्यालयले एक सूचना सार्वजनिक गर्दै जाँच गर्ने कीट सकिएको जनाएपछि बिरामी निजी अस्पतालतर्फ गएको गुनासो गरेका छन् ।

स्वास्थ्य कार्यालयको भित्तामा ‘यस स्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा डेङ्गु परीक्षण कीट सकिएको जानकारी गराउँछौँ’ लेखिएको सूचना टाँसिएको छ । यो सूचनाले सरकारी स्तरबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरु नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको जनगुनासो आएको छ ।

सूचनाको विषयमा कार्यालयका प्रमुख शशिकान्त सिंहले आफूहरुले कीट नभएरै सूचना जारी गरेको र कहिले आउँछ भन्ने अझै ठेगान नभएको बताउनुभयो । उहाँले आफूहरुले माग गरेकोभन्दा कम कीट आएका कारण समस्या भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयमा रु १५० मा गरिने जाँच निजी अस्पतालहरुमा रु एक हजारभन्दा माथि तिरेर जाँच गर्नु परेको भन्दै सर्वसाधरणले आक्रोश व्यक्त गरेका छन् । ज्वरो आएपछि डेङ्ंगुको शङ्का लागेर स्वास्थ्य कार्यालय मकवानपुरमा जाँच गराउन पुग्नुभएका हेटौँडा–४ की सुनिता पौडेलले निजी अस्पतालमा गएर जाँच गराउनु परेको साथै रिपोर्टमा डेङ्गु देखिएपछि हेटौँडा अस्पतालमा श्यया अभावले निजी अस्पतालमै भर्ना हुनु परेको बताउनुभयो । आफ्नो कमाईअनुसार सरकारी अस्पतालमा उपचार गराउनुपर्नेमा महँगो पैसा खर्च गरेर निजी अस्पतालमा भर्ना हुँदा समस्या परेको उहाँको भनाइ थियो ।

यस्तैगरी हेटौँडा—४ कै अर्का डेङ्गु सङ्क्रमित सुजता मैनालीले पनि हेटौँडा अस्पतालमा उपचारका लागि स्थान नपाएर सहकारी अस्पताल हेटौँडामा उपचार गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार हेटौँडा अस्पतालमा उपचार गर्न पाएको भए खर्चमा कमी हुने थियो ।

यता हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा बिरामीको चाप बढेकाले र अस्पतालमा भएको श्ययाभन्दा पनि केही बढी बिरामीलाई उपचार गराइरहेको जानकारी दिनुभयो । उहाँले अस्पतालले धान्नेभन्दा पनि बढी बिरामीको चाप भएपछि उनीहरु निजी अस्पतालतर्फ जान बाध्य भएकामा दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित