विराटनगरमा बेबारिसे युवाको खुट्टादेखि तलको भाग काटियो, ‘बर्जर डिजिज’ को समस्या रहेको पुष्टि

विराटनगर / विराटनगरको कोसी अस्पतालमा उपचार सुरु गरिएका ३५ वर्ष जतिका बेबारिसे युवाको देब्रे खुट्टाको घुँडादेखि तलको भाग काटेर फ्यालिएको छ ।
खुट्टा कुहिएको अवस्थामा उपचार सुरु गरिएका उनमा ‘बर्जर डिजिज’ को समस्या देखिएको छ । त्यही समस्या कारण घुँडादेखि तलको भाग शल्यक्रिया गर्दै काटेर फ्याल्नु परेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार शरीरका नशा चाउरिएर रक्तसञ्चार बन्द भएपछि उत्पन्न हुने समस्यालाई ‘बर्जर डिजिज’ भनिन्छ । खुट्टामा सानो घाउ बोकेर ती युवा एक साता अघि अस्पतालमा आएका थिए । जिम्मा लिने कोही नभेटिएपछि उपचार नपाएका कारण त्यही घाउ बढ्दै गएर घुँडादेखि तलको भाग कुहिएको थियो । जसका कारण अस्पताल दुर्गन्धित बनेको थियो ।

बोल्न सके पनि ती युवाले होसका कुरा गर्न नसक्ने अस्पतालले जनाएको छ । नाम शंकर मगर र घर ओखलढुंगा बताए पनि वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा ती युवाको बेबारिसेकै रुपमा उपचार सुरु गरिएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले बताए । चिकित्सकलाई उद्रित गर्दै उनले दिएको जानकारी अनुसार ती युवाको घुँडादेखि तलको भागमा रक्तसञ्चार नै नभएका कारण खुट्टा कुहिएर गएको पाइएको थियो ।

जिम्मा लिने व्यक्ति नहुँदा उपचार पाउन नसकिरहेको अवस्थामा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले उपचारको जिम्मा लिएका छन् । उनले जिम्मा लिएसँगै युवाको उपचार सुरु गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बेबारिसे युवाको उपचारको सबै जिम्मा महानगरपालिकाले लिएको बताए । भने, ‘औषधि उपचारदेखि शल्यक्रिया र रेखदेखसम्मको जिम्मा महानगरले लिएको छ । बिरामीको हेरचाहमा पनि मान्छे खटाइएको छ ।’

पहिला घुँडा भन्दा मुनी मात्रै काट्ने कोसीस गरे पनि यसको असर घुँडाको जोर्नीसम्म रहेको पाइएपछि त्यस भन्दा तलको भाग काट्नु परेको चिकित्सकले बताएका छन् । अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेल नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गर्दै ‘बर्जर डिजिज’ ले असर गरे जति भाग काटेर फ्यालिदिएको हो । डा. खरेलले रक्तसञ्चार बन्द भएर घुँडाको जोर्नीदेखि तलको भाग कुहिएर गएका कारण रक्तसञ्चार भएको ठाउँसम्म पु¥याउन पनि जोर्नी मुनीको भाग फ्याल्नु पर्ने अवस्था आएको बताए । भने, ‘खुट्टाको रक्तसञ्चार भइरहेको ठाउँसम्म काट्नु प¥यो । तत्काललाई शल्यक्रिया सफल भए पनि यो समस्या त्यहाँ भन्दा माथि सरेर जान सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।’

उनका अनुसार ती युवाको शरीरमा रगतको मात्रा ठीकै देखिए पनि नुनको मात्रा कम रहेको पाइएको थियो । डा. खरेलका अनुसार अत्यधिक मात्रामा धुमपान गर्ने तथा आफ्नो स्वास्थ्यमा ख्याल नगर्ने पुरुष व्यक्तिमा यस्तो समस्या देखिन्छ । ‘एकदम नै कम व्यक्तिमा यो समस्या देखिन्छ,’ उनले भने, ‘धुमपान गर्ने पुरुषमा मात्रै हुने गर्छ ।’ उनका अनुसार सुरुमा मानिसको खुट्टाको नङमा यो समस्या देखिन्छ । तत्कालै नङको भाग काटेर फ्याल्न सकियो भने शरीरमा फैलिने सम्भावना कम हुने बताउँदै डा. खरेलले वास्ता नगरेमा खुट्टाको औंला, पिँडुला हुँदै शरीरका सबै अंगसम्म असर गर्ने जानकारी दिए ।

‘सुरुमा नङमा देखिने यो समस्या सर्दै माथिल्लो भागतिर जान्छ,’ डा. खरेलले भने, ‘तत्काल उपचार सुरु नगरे यसले सबै अंगमा असर पु¥याउँदै जान्छ ।’ यसले असर पु¥याए जति भाग भने कुहिएर जाने उनले बताए । शरीरमा रक्तसञ्चार नै बन्द हुने समस्याको शल्यक्रिया भने धेरै गाह्रो हुने डा. खरेलको भनाइ छ । उनले कुहिनु अघि नै शल्यक्रिया गरेर उपचार सुरु गर्न सके यो समस्याले शरीरका अन्य अंगलाई असर नगर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित