आन्द्रा भुँडी बाहिर निस्केको बालकको सफल शल्यक्रिया, आफन्तमा खुशीयाली

राजविराज / बाँसको ठुटो पेटमा रोपिँदा आन्द्रा भुँडी निस्केर गम्भिर अवस्थामा उपचारका लागि ल्याइएका एक बालकको यहाँका चिकित्सकहरुले सफल शल्यक्रिया गरि ज्यान जोगाएका छन् । बाँसको ठुटो रोपिएर आन्द्रा, भुँडी बाहिर निस्केको सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ८ वर्षिय बालक तफरेज आलमको सफल शल्यक्रिया गरि गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले ज्यान जोगाएका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर शौचका लागि जान लाग्दा घरको छतबाट चिप्लिएर तल रहेको बाँसधारीमा बाँसको ठुटोमा परेका थिए । ठुटो पेटमा रोपिएर आन्द्रा, भुँडी बाहिर निस्किएपछि आफन्तले तत्कालै मोटरसाइकलमा राखेर सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याएका थिए । वरिष्ट कन्सल्टेन्ट जेनरल सर्जन डा. राजिव मिश्रा, एनेशथेसिया विभागका प्रमुख डा. पारशमणी शाह, डा. शशांक यादव, डा. गोपाल यादव, एनेशथेसिया सहायक विपिन देवलगायतका चिकित्सक टोलीले सफल शल्यक्रिया गरि बालकको ज्यान जोगाएका हुन् ।

डा. मिश्राका अनुसार, शल्यक्रियाका लागि चार घण्टाको समय लागेको थियो । आन्द्रा भँुडी बाहिर निस्किएर क्षतविक्षत बनेको बालक लइ २० सेन्टिमिटर आन्द्रा भुँडी काटेर सफल शल्यक्रिया गरि बचाउन सकेकोमा निकै आत्मसन्तुष्टि मिलेको उनको भनाई छ । उनले बालकको उपचारमा संलग्न पुरै टिम धन्यवादको पात्र रहेको बताए ।

शल्यक्रिया सफल भई शुक्रबार बालक होसमा आएपछि आफन्तहरु पनि निर्कै खुशी भएका छन् । शल्यक्रिया सफल भएपछि घाइते बालकका आफन्तले खुशी व्यक्त गरेका छन् । “अप्रेशन सफल हुने हो की होइन्, भन्ने निकै डर थियो” घाइते बालककी आमा सबनम खातुनले भनिन्, “डाक्टरहरुको प्रयास सफल भयो, ज्यान बच्यो, धेरै खुशी भएका छौं ।”

तीन महिना अघि पनि सो अस्पतालमा घाँस काट्ने कचिया पेटको वारपार भएका एक बालकको डा. मिश्र नेतृत्वकै चिकित्सक टोलीले सफल शल्यक्रिया गरि ज्यान जोगाएका थिए ।

यस्तै केही महिनाअघि मात्र सिभियर निमोनियाँ रोगबाट पीडित तीन महिने बालकको शिशु रोग विशेषज्ञ डा. ललन प्रसाद रौनियारले सिपिएपी उपकरणको सहायताले सफल उपचार गरि ज्यान जोगाएका थिए ।

कुनै बेला सामान्य बिरामी पर्दा पनि महँगो खर्च ब्यहोरेर धरान, बिराटनगर र भारतको विभिन्न अस्पतालमा धाउने यहाँका बासिन्दाले उपचारमा बढोत्तरी भएपछि केही राहत पाएका छन् । अस्पतालमा अहिले देखिएका सुधार सामूहिक प्रयासले मात्र सम्भव भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । आवश्यक दक्षजनशक्ति र भौतिक पूर्वाधारको उपलब्धता तथा प्राप्त श्रोत साधनको उचित परिचालनले यस्तो सुधार सम्भव भएको डा. दासको भनाई छ । भावी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन आइसियु र सिटी स्क्यानको सेवा पनि उपलब्ध गराउन लागि परेको उनले जानकारी दिए ।

यस अस्पतालका चिकित्सकले गम्भिर प्रकृतीको बिरामीको उपचारमा एकपछि अर्को सफलता हात पार्दै गएपछि बिरामीको विश्वास पनि जित्दै गएको स्थानियको भनाई छ । परिवर्तित समयसँगै उपचार, आधुनिक उपकरण र पद्दतीमा गरेको सुधार र अनुभवी डाक्टरहरुको निरन्तर सेवाले अस्पतालको साख बलियो बन्दै गएको स्थानियहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित