यौनाङ्गबारे कविता लेखेर १८ महिना जेल सजाय पाएकी अभियन्ताको सजाय नौ महिना थपियो

एजेन्सी / यूगाण्डाकी एक जना नारीवादी अभियन्तालाई राष्ट्रपति योवरी मुसेभेना र उनको आमाको यौनाङ्गबारे विम्वात्मक कविता प्रकाशित गरेकोमा थप नौ महिना जेल सजाय तोकिएको छ ।

स्टेला न्यान्जीलाई बिहीबार ‘साइबर शोषण’ मा दोषी बताइएको थियो । सोही कसुरमा शुक्रबार उनलाई थप नौ महिना जेल सजाय तोकिएको हो ।
स्टेलाले राष्ट्रपति मुसेभेनीको ३३ वर्षे शासनमा भएको ‘शोषण, दमन र बन्देज’को आलोचना गर्दै फेसबुकमा एउटा विम्बात्मक कविता पोष्ट गरेकोमा पहिले नै १८ महिना जेल सजाय दिइएको छ ।

स्टेलाले १८ महिनाको सजायमध्य नौ महिना समय भुक्तान गरिसकेको अवस्थामा शुक्रबारको थप नौ महिना सजाय आएको हो । विहिबार अदालती सुनुवाइमा स्टेलालाई अदालत परिसरमा उपस्थिति गराइएको भए पनि शुक्रबार सजाय भने कारगारमा उनलाई भिडियो लाइभमार्फत सुनाइएको थियो ।

अदालतको टेलिभिजनमा देखिएकी स्टेला आफूलाई सशरीर न्यायिक कारबाहीमा सरिक नगराएको विरोधमा अपशब्द बोलेर विरोध गरिरहेकी थिइन् ।आक्रोशित न्यान्जीले आफ्नो वक्षस्थलसमेत देखाएर विरोध गरिन् । विगतमा पनि उनले विरोधको लागि निवस्त्र हुने गरेकी थिइन् ।

यस अघि स्टेलाले आफ्नो अघिल्लो काराबास सजायँ विरुद्ध यूगाण्डाको उच्च अदालतमा पुनरावेदन दिएकी थिइन् । उक्त प्रयास असफल भएपछि उल्टो उनीविरुद्ध नयाँ मुद्दाहरु अघि सारिएको थियो ।

‘मैले राष्ट्रपतिलाई चिड्याउने प्रयास गरेको हो किनकि उनले विगत ३० वर्षदेखि हामी जनतालाई दुःख दिइरहेका छन् । युगाण्डाका हरेक गम्भिर आमाले गर्नुपर्ने यही हो ,’ विहीबारको अदालती कारबाहीका क्रममा स्टेलाले भनिन् ,‘तर मलाई राष्ट्रपतिलाई चिड्याएकोमा दोषी करार गरिएन । त्यसमा म दुःखी छु ।’

विहीबारले स्टेलाले आफ्नो फेसबुकमा एउटा कविताको एक लाइन लेखेकी थिइन् जसमा लेखिएको थियो, ‘म तिम्रो अदालत न्याय खोज्न कहिल्यै आइनँ । म त त्यहाँ राजनीतिक खेल खेल्न आएको हुँ ।’ अदालती कारबाहीका क्रममा उल्लेख्य मानिस उपस्थित भएका थिए । धेरै जसो स्टेलाका समर्थक थिए । उनीहरुले युगाण्डाको राष्ट्रिय गीत गाएर विरोध गरेका थिए ।

शुक्रबार न्यायाधीशले स्टेलालाई जेल सजायँ सुनाइरहँदा समर्थकहरुले नारा लगाएर उनको फैसलानै नसुनिने अवस्था बनेको थियो । त्यसपछि समर्थकहरुले न्यायाधीशमाथि प्लाष्टिकको बोत्तल प्रहार गर्न थाले । प्रहरीले तिनलाई रोक्ने प्रयास गर्दा अदालत परिसरनै अराजक बनेको थियो । काम्पाला महानगर प्रहरीका प्रवक्ता प्याट्रिक ओनयाङ्गोका अनुसार अदालतमा हुलहुज्जत गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित