पैसा दिएर नोबेलले मिलायो सुत्केरी मृत्यु घटना

विराटनगर / उपचारका क्रममा लापरबाही भएर सुत्केरीको मृत्यु भएको घटनालाई विराटनगरको नोबेल शिक्षण अस्पतालले मृतकका परिवारलाई पैसा दिएर सामसुम पारेको छ । नोबेलले दुई लाख रुपैयाँ दिने भएपछि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका मृतकका आफन्त र परिवारका सदस्य पनि मागलाई थाँती राखेर पैसो बुझ्दै आन्दोलन फिर्ता लिन राजी भएका छन् । एक जना सुत्केरी महिलाको मृत्यु भएको प्रकरणलाई पैसासँग मोलतोल गरिएको भन्दै आलोचन भएको छ ।

उपचारमा कमजोरी गर्ने अस्पताल र चिकित्सकलाई कारबाही गराएर आन्दोलन छेड्ने अडानमा रहेका आफन्त पनि पैसाका सामु झुकेका छन् । आफन्तले शल्यक्रिया र उपचारमा संलग्न चिकित्सकलाई कारबाही हुनु पर्ने, पार्वतीबाट जन्मिएकी छोरीको लालनपालन र शिक्षादीक्षाको व्यवस्था अस्पतालले गर्नु पर्ने, आगामी दिनमा यस्तो घटना हुन नहुने लगायतका माग राखेर आन्दोलन थालेका थिए । तर बिहीबार दिउँसो मृतक पक्षसँग भएको वार्ताका क्रममा अस्पताल प्रशासन दुई लाख रुपैयाँ मृतकका परिवारलाई दिन सहमत भएको हो ।

सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी सुनसरीको रामधुमी नगरपालिका–३ की ३५ वर्षीय पार्वती कार्कीको बुधबार विहान अस्पतालमै मृत्यु भएको थियो । सामान्य प्रसूतिबाटै दोस्रो सन्तान छोरी जन्माएकी उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालको दाबी छ । सोमबार अस्पताल भर्ना भएकी उनले मंगलबार विहान १० बजे ‘नर्मल डेलिभरी’ बाट नवजात शिशुको जन्म दिएकी थिइन् । रक्तश्राव नरोकिएको भन्दै चिकित्सकले मंगलबार दिउँसो नै पाठेघरको शल्यक्रिया गरिदिएको आफन्त पुस्बिन अधिकारीले बताए । उनका अनुसार शल्यक्रियापछि १७ पिन्ट रगत समेत चढाइएको थियो ।

यता परिवारका सदस्य र आफन्तले भने अत्यधिक रक्तश्राव हुँदा पनि चिकित्सकले बेवास्था गरेको र शल्यक्रियाका क्रममा लापरबाही गर्दा मृत्यु भएको आरोप लगाएका छन् । शव बुझ्न अस्वीकार गर्दै उनीहरु आन्दोलित बनेका थिए । अस्पतालले मृतक परिवारलाई दुई लाख दिनुका साथै यस अघि मृतकका परिवारले बुझाएको २६ हजार रुपैयाँ पनि फिर्ता गरिदिएको छ । तिर्न बाँकी रहेको १० हजार पनि मिनाहा गरिदिएको छ । लेनदेनको सहमतिपछि भने परिवारका सदस्य र आफन्तले शव बुझेर अस्पतालबाट लगेका छन् ।

पार्वतीका दाजु नवराज राउतले अस्पताल प्रशासन पीडित पक्षले राखेका माग सम्बोधन गर्न राजी भएपछि आन्दोलन फिर्ता लिएर शव जिम्मा लिइएको बताए । ‘हामीले राखेका मागमा अस्पताल प्रशासन सहमत भयो,’ उनले भने, ‘त्यही भएर शव जिम्मा लिएर लगिएको हो ।’ अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्कसले लापरबाही नगरेको र अत्यधिक रक्तश्रावका कारण महिलाको मृत्यु भएको बताए । ‘धेरै रगत बगेर मृत्यु भएकी महिलाको परिवार आर्थिक रुपमा धेरै विपन्न रहेछ,’ उनले भने, ‘पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेको पाइएपछि नवजात शिशुको संरक्षण र स्याहारमा सहयोग पुगोस भनेर अस्पतालले आर्थिक सहयोग गरेको हो ।’ उनले मृतकका परिवारले उपचार वापत अस्पताललाई बुझाएको पैसा फिर्ता दिइएको र तिर्न बाँकी सबै रकम मिनाहा गरिएको जानकारी दिए ।

बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । कतारमा रहेका पार्वतीका श्रीमान दीपक कार्की पनि फर्किएर आइसकेका छन् । कार्की दम्पत्तिको पहिलो सन्तान ७ वर्षकी छोरी नै छिन् ।

प्रतिक्रिया

सम्बन्धित