डेंगु रोग नियन्त्रणको अभियान : बजेट सक्ने खेल

रौतहट / डेंगु रोग नियन्त्रणको लागि चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले थालेको अभियान प्रभावकारी नभएको त्याहाका स्थानीयवासीले गुनासो गरेका छन् । डेंगु सार्ने लामखुट्टेको प्युपा तथा लार्भा नष्ट गर्न गाउँ गाउँमा परिचालन गरेको स्वास्थ्य स्वयं सेविकालाई शाखा संयोजक हेल्थ असिस्टेन्ट अभयकुमार ठाकुरले कुशल प्रशिक्षण दिन नसकेको कारण अभियान प्रभावकारी नभएको गुनासो आएको हो ।

संयोजक ठाकुरले नगरको वडा नम्बर १ देखि ६ नम्बरका वडाहरुमा ३४ जना स्वयं सेविका परिचालन गरी लार्भा तथा प्युपा नष्ट गर्न खटाएको छ । साता दिन अघि उनले एक कार्यक्रम गरी ती वडाका वासिन्दा, स्वास्थ्य स्वयं सेविका, जन प्रतिनिधि र स्थानीय पत्रकारलाई लामखुट्टेको वासस्थानको बारेमा जानकारी गराएका थिए ।

उनले भने ‘डेंगु रोग फैलाउने ‘एडिस एजेप्टाई’ नामको लामखुट्टेले फोहर पानी मन पराउँदैनन् । तिनीहरु टायर, प्लास्टिक, कन्टेनर, ड्रमलगायतका भाँडामा जमेका सफा पानीमा बस्छन् र फुल पार्ने काम गर्छन् । फुल प्युपा र लार्भाकोरुपमा विकसित भई लामखुट्टेको रुप धारण गर्छ । प्युपा र लार्भा नष्ट गर्दा लामखुट्टेको संख्या नै कम हुने भएकोले डेंगु रोगको संक्रमण पनि कम हुने जानकारी गराउँदै उनले टायर, प्लास्टिक, कन्टेनर, ड्रममा जमेका पानी फाल्न स्वयं सेविका खटाए ।

उनले दिएका उक्त जानकारी बमोजिम स्वास्थ्य स्वयं सेविका गाउँ÷गाउँ त पुगे तर टायर, प्लास्टिक, कन्टेनर, ड्रममा जमेका पानी नपाएपछि नालामा जमेको फोहर पानीमा बढी केन्द्रीत भए । नालाको पानी चलाउँदै हेर्दै हिड्न थाले । लार्भा र प्युपा मार्ने कुनै औषधी समेत नपाएका उनीहरु राजमार्ग तथा सहायक मार्गका नाला हेरेरै फर्किने गरेका छन् । नाम सार्वजनिक नगर्ने शर्तमा एक स्वयं सेविकाले भनिन् ‘पानी नपरेको धेरै भयो गाउँघरमा पानी भरिएको टायर, प्लास्टिक, कन्टेनर र ड्रम निकै कम संख्यामा पाइयो । त्यसैले नाला तिर जान बाध्य भयौं ।’

‘डेंगुको महामारी प्रमुख स्वास्थ्य समस्या भए पनि वातावरणीय अवस्थाले यो रोग लाग्ने भएकाले विज्ञहरू घर वा समुदाय वरपर सरसफाइ गर्न, घरभित्र भाँडामा भएको पानीलाई छोपेर राख्न, पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्न सुझाउँछन् ।’ यस प्रकारको चेतना अभिबृद्धि गर्न स्वास्थ्य स्वयं सेविकालाई खटाएको भए कार्यक्रम प्रभावकारी हुन्थ्यो तर पानी फालेर लार्भा नष्ट गर्न पठाएको कार्यक्रम बजेट सक्ने खेल मात्र भएको स्थानीयको आरोप छ ।

नगरपालिकामा १० वटा वडा छन् । जसमध्ये ६ वटा वडामा मात्रै उक्त कार्यक्रम गर्नाले अन्य वडालाई उपेक्षा गरेको वडा नम्बर ७ का युवा दिनेश खनालले बताए । स्वास्थ्य संयोजक ठाकुरले नगर भित्र समान व्यवहार नगरेको उनको आरोप छ । संयोजक ठाकुरले डेंगु रोग नियन्त्रण र यसबाट बच्ने उपाएको बारेमा दिएका जानकारी पर्याप्त नभएको कार्यक्रममा सहभागी अधिकांशले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट विशेषज्ञ झिकाई डेंगु रोग नियन्त्रण र यसबाट बच्ने उपाएको बारेमा प्रशिक्षण वा जानकारी दिलाउन लगाउनु पर्नेमा हेल्थ असिस्टेण्ट ठाकुरले दिएको जानकारी के प्रभावकारी हुन्छ ? नगरवासीको प्रश्न छ । पाँच लाख भन्दा बढी रकमको कार्यक्रम रहेको यो शीर्षकमा संयोजक ठाकुरले पैसा जोगाउन खोज्दा कार्यक्रम प्रभावकारी नभएको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित