तोडफोडपछि सर्पदंश उपचार केन्द्रको सेवा ठप्प

सर्लाही । सर्पदंशका बिरामी बढिरहेको समयमा समुदाय स्तरबाट सञ्चालित सर्लाहीको उत्तरी भेगको एकमात्र सर्पदंश उपचार केन्द्रको सेवा बन्द भएको छ ।
सोमवार राती गोमन सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९, निवासी पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदा बुढाथोकीको मृत्यु भएको थियो । सिकिस्त अवस्थामा उपचार केन्द्र ल्याइएकी बालिकलाई राती ९ बजेतिर स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । चिकित्सकको लापरवाहीले बालिकको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले उपचार केन्द्रमा तोडफोड गरेका छन् ।

तोडफोडबाट उपचार केन्द्रमा भर्खरै खरिद गरी सञ्चालनमा ल्याइएको आइसीयू, भेन्टिलेटर लगायतका उपकरण र झ्याल ढोकामा क्षति पुगेको छ । सो घटनापछि सोमवार रातीदेखि नै उपचार केन्द्रको सेवा ठप्प भएको हो । त्यहाँ कार्यरत चिकित्सकले सुरक्षाको प्रत्याभूति नहुञ्जेल काममा नर्फकने बताएका छन् । उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले तोडफोडबाट अधिकांश उपकरणमा क्षति पुगेकाले तत्काल सेवा सूचारु गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । सोमवार राती मृत्यु भएकी सानी बालिकालाई गोमन सर्पले दुई ठाउँमा डसेको र उपचारमा जति प्रयास गर्दा पनि बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकलाई उद्वृत गर्दै उपचार केन्द्रका अध्यक्ष काफ्लेले बताउनुभयो ।

बालिकको मृत्युपछि तोडफोडमा उत्रिएका आफन्तले राती अबेर मात्रै बालिकको शव बुझेका थिए । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाई, वडा नम्वर ९, का वडाध्यक्ष सीताराम पोखरेललगायत आएर सम्झाइबुझाइ गरेपछि सोमवार राती १.०० बजे बालिकको शव आफन्तले बुझेका थिए । मृतकका आफन्तले बालिकालाई उपचार गराउन ल्याउँदा उपचार केन्द्रका कर्मचारीले मादक पदार्थ सेवन गरेको आरोप लगाएपछि प्रहरीले दुई जना कर्मचारीको स्वास्थ्य परीक्षण गरेको थियो । तर डाक्टरको रिपोर्टमा मादक पदार्थ सेवन नगरेको पाइएको प्रहरीले जनाएको छ । हरिवनका नगरप्रमुख प्रसाईले सर्पदंशजस्तो उपचार गर्ने संवेदनशील स्थल व्यवस्थित नभएको देखिएको बताउनुभयो ।

सर्पदंशका बिरामी बढिरहेको अवस्थामा उपचार केन्द्र बन्द भएपछि यस भेगका नागरिक मारमा परेका छन् । यसभेगका सर्पदंशका बिरामीलाई उपचारका लागि कहाँ लैजाने भन्ने अन्यौल भएको छ । नवलपुरबाहेक जिल्लाको पश्चिमी भेगको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र र दक्षिणी भेगस्थित जिल्ला अस्पताल मलङ्गवामा सर्पदंशका बिरामीको उपचार हुँदै आएको छ । गर्मी र बर्खायाम सूरु भएसँगै एक महिनाको अवधीमा जिल्लाको घारीबथान, कौडेना र मलङ्गवामा गरी सर्पले डसेर तीन जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित