रौतहटमा २१ जना बालबालिकामा एचआईभी संक्रमण

रौतहट / रौतहटमा २१ जना बालबालिकासहित तीन सय भन्दा बढीको संख्यामा एच आई भी संक्रमित भेटिएको छ । एच आई भी संक्रमितलाई लगाइने लान्छाना र गरिने भेदभाव न्युनीकरण सम्बन्धि कार्यक्रममा जिल्ला अस्पताल गौरले रौतहटमा उक्त संख्याका बालबालिकासहित तीन सय एक जनामा एच आई भी संक्रमण देखिएको तत्थ्याङ्क सार्वजनिक गरेको हो ।

जिल्ला अस्पतालका एआरटी (एण्टिरेट्रोभाइरल थेरापी) अफिसर शेषअसरफ अलीले दिनु भएको जानकारीअनुसार पुरुष एक सय ५०, महिला एक सय २५, बालबालिका २१ र तेस्रो लिङ्गी पाँच जना गरी ३०१ जना एच आई भी संक्रमित छन् । गत आर्थिक वर्ष एक हजार ८५ पुरुषमा एच आई भी परीक्षण गर्दा २० जना पोजेटिभ अर्थात संक्रमित भेटिएको छ । एक हजार एक सय ३२ महिलामा परीक्षण गर्दा कोही पनि पोजेटिभ नदेखिएको उहाँले जानकारी दिनु भयो ।

२०७१ सालदेखि एचआईभी परीक्षण गर्दै आएको जिल्ला अस्पताल गौरले हालसम्म झण्डै आठ हजार जनामा परीक्षण गरिसकेको छ । जिल्लामा एचआईभी÷एड्स संक्रमित भएका तर सम्पर्कमा नआएकाको संख्या एक हजार भन्दा बढी रहेको कार्यक्रममा जनाइएको छ । रोजगारीको लागि भारतको विभिन्न सहरमा पुगेका जिल्लाका कामदारमा एचआईभी संक्रमण देखिए पनि उनीहरुमध्ये अधिकांश परिवारको सम्पर्कमा नआई उतै बसेर उपचार गराईरहेको जानकारी दिनु भयो ।

उहाँकाअनुसार जिल्लाका एक सय ३२ एचआईभी÷एड्स संक्रमितले एआरटी औषधी उपभोग गर्दै आएका छन् । यस बाहेक अन्य बिरामी औषधीको लागि भरपर्दो अस्पतालको खोजी गर्दै अन्यत्र गएका छन् । जिल्लामा एचआईभी÷एड्स संग सम्बन्धित थुप्रै गैरसरकारी संस्था भए पनि जिल्ला अस्पतालसंग कुनै समन्वय नराखी काम गर्ने भएकोले वास्तविक तत्थ्याङ्क आउन कठिन भएको छ ।

अस्पतालका प्रमुख डाक्टर कृष्ण साहले गत आर्थिक वर्ष जिल्लामा आठ जना एचआईभी संक्रमितको मृत्यु भएको जानकारी दिँदै भन्नुभयो ‘रोजगारको शिलशिलामा विदेशिने पुरुष कामदार नै बढी संख्यामा एचआईभी÷एड्स संक्रमित छन् । संक्रमित त्यस्ता पुरुषले समाजमा बदनाम भइएला भन्ने डरको कारण रोग लुकाएका हुन्छन् । आफ्नै श्रीमतीसंग यौन सम्पर्क पनि गर्छन् र रोग सारिदिन्छन् । जसको असर दुधे अबोध बालबालिकामा पनि पर्दछ र उनीहरु समेत एचआईभी संक्रमित बन्छन् ।’

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले असुरक्षित यौन सम्पर्कको कारण पुरै परिवारमा एचआईभी÷एड्स संक्रमणको सम्भावना अधिक हुने बताउनु भयो । रोग सर्नुको प्रमुख कारण असुरक्षित यौन सम्पर्क भए पनि इन्जेक्सनको जथाभावी प्रयोग एवम् रगत ट्रान्समिशन जस्ता कारण पनि रोग सर्न सक्छ । संक्रमित कुनै पनि व्यक्तिलाई समाजले कुनै पनि लान्छना नलगाई समान र सम्मानपूर्ण व्यवहार गर्न आग्रह गर्नु हुँदै डाक्टर साहले संक्रमितलाई चिकित्सकसंग सम्पर्क गरी नियमितरुपमा औषधी सेवन गर्न सुझाव दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित