संगीत तथा नृत्य प्रज्ञा प्रतिष्ठानका कुलपति सिविमा

इटहरी / सिवि सगरमाथा कलेज इटहरीले कक्षा ११ र १२ मा संगीत तथा नृत्यका कक्षा संचालन गरेर ऐतिहासिक कार्य गरेको संगीत तथा नृत्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायनले बताएका छन् । कलेजले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै रायनले सो कुरा बताएका हुन । उनले संगीत र कलाका माध्यमबाट मात्र संस्कृतिको जगेर्ना गर्न सकिने भएकाले विद्यालय शिक्षामा समावेश गर्न जरुरी रहेको बताए ।

काठमाण्डौं बाहिरका विद्यालयहरुले औपचारिक शिक्षामा समावेश गर्न नसकिरहेको सन्दर्भमा इटहरीको सिवि सगरमाथा कलेजले संगीत र नृत्य प्लस टु शिक्षामा समावेश गर्न खेलेको भूमिका महत्वपूर्ण रहेको उनको धारणा थियो । यो ऐतिहासिक पहलका लागि म कलेज परिवारलाई हार्दिक बधाई र शुभकामना दिन्छु भन्दैं उनले प्रतिष्ठानका तर्फबाट सक्दो सहयोग गर्ने पनि बताए ।

रायन पञ्चायत विरोधी साङ्गीतिक अभियान राल्फाका एक अभियान्ता हुन् । जनसंगीतका माध्यमबाट जनतालाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेका रायन, रामेश, अरिम, मन्जुलहरुले “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ…..” जस्ता गीत गाएका छन् । संगीत साधना प्रतिष्ठान इटहरीमा संचालित स्टाफ नोटेशन तालिमको समापन कार्यक्रमका लागि आएका रायन सिवि सगरमाथाले कक्षा ११ र १२ मा संगीत तथा नृत्यका कक्षा संचालन गरेको थाहा पाएर त्यहाँ गएका थिए ।

कलेजले राखेको छोटो स्वागत कार्यक्रममा स्थानीय राजनीतिककर्मी ज्वाला तामाङ, पत्रकार लिलाराज भट्टराई, इटहरी उपमहानगरका प्रमुख सल्लाहकार तथा कलेजका प्रमुख शैक्षिक सल्लाहकार डा. दिवाकर रेग्मी, संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु के.सी., स्थानीय संगीतकर्मीहरु, कलेज संचालक, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति थियो । कुलपति रायनलाई संगीतको कक्षा सञ्चालनको उद्घाटनका लागि निम्तो समेत दिएको प्राचार्य सागर प्रसाद भट्टराईले बताए ।

सिवि सगरमाथा कलेजले विगत देखि नै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम, शिक्षा तथा मानविकी कार्यक्रम संचालन गर्दै आएको छ । यस शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा नेपालमै पहिलोपटक जापानिज भाषा, खेल विज्ञान संचालन गर्दैछ भने संगीत र नृत्य प्रदेशमै पहिलो पटक संचालन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित