धरानपछि झापा र मोरङमा पनि डेंगु रोगी

विराटनगर / सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा र मोरङमा पनि देखा परेको छ । धरानवासीले जम्मा पारेर राखेको पानी नफ्याँक्दा रोग फैलँदै गएको हो । सुनसरीमा हालसम्म ५ सय ४८ जनामा डेंगुको संक्रमण देखा परेको छ । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयपुर अस्पताल र इटहरीका अस्पतालमा उपचार भइरहेको छ ।

मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । झापामा ३ जनामा डेंगुको संक्रमण देखा परेको छ । झापा, मोरङ र सुनसरी गरी जम्मा ५ सय ६० जनामा डेंगु देखा परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ७ दिन भित्र नियन्त्रण सुनसरीको धरानमा डेंगुको प्रकोप फैलिँदै गएपछि प्रदेश सरकारले यसको नियन्त्रणमा तदारुकता देखाएको छ । डेंगु झापा र मोरङमा पनि देखा परेपछि प्रदेश सरकारले ७ दिनभित्र नियन्त्रणमा लिने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बुधबार अपरान्ह बसेको प्रदेश १ सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको बैठकमा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सात दिन भित्रमा डेंगुका लार्भा नष्ट गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित