के कलियुग सन् २०२५ मा अन्त्य हुँदैछ? के हुन्छ त्यस पछि? थाहा पाउनुहाेस् ।

युगचक्र अध्ययन गर्ने विद्वानहरु अहिलेको समयलाई कलियुग बताउँछन्, अध्यारोंको समय। नैतिक चेतना अनि मानसिक क्षमता हदैसम्म कम हुने समय। महाभारतमा कलियुगलाई ‘विश्व आत्मा’को रंग कालो हुने अवधिको रुपमा व्याख्या गरिएको छ, एक चौथाइ मात्र नैतिकता अस्तित्वमा रहने बताइएको छ। कलियुग समाप्त हुने समय नजिकिदै जाँदा मानिसमा दुष्टता बढ्ने, रोग, शक्ति क्षीण हुनेछ, रिस, डर, दुख अनि प्राकृतिक विपत्ती बढ्नेछ। पश्चाताप, बलिदान अनि धर्मिक आचरणको अर्थ रहनेछन्। सबै प्राणीहरु यो परिवर्तनबाट गुज्रनेछन्।

के को आधारमा परिवर्तन हुन्छ युग ?

चन्द्रमाले पृथ्वीलाई परिक्रममा गर्छ। पृथ्वीले सूर्यलाई परिक्रममा गर्छ। त्यस्तै सूर्यले आकाशगंगा तारापुञ्जको केन्द्रमा रहेको तारालाई परिक्रममा गर्छ। जसरी सूर्यको नजिक र टाढा हुँदा पृथ्वीको मौसममा परिवर्तन हुन्छ, प्राणीहरुमा त्यही अनुसारको प्रभाव पर्छ, त्यसरी नै आकाशगंगाको केन्द्रमा रहेको ताराको टाढा र नजिक हुँदा हाम्रो सौर्यमण्डल (पृथ्वीलगायत सबै ग्रह), अनि यहाँका प्राणीहरुमा त्यही अनुसारको प्रभाव पर्छ।

सत्य युग, त्रेता युग, द्वापर युग हुँदै कलि युग सुरु भएको हो। यो एक चक्र हो, कलि युगको समाप्ति पछि द्वार, त्रेता अनि सत्य युग आउँछ। सूर्यको वरिपरि परिक्रममा गर्दैजाँदा पृथ्वीमा मौसम परिवर्तन भएजस्तै सूर्य सहित सौर्य प्रणालीले आकासगंगा तारापुञ्जको केन्द्रमा रहेको तारालाई परिक्रमा गर्ने क्रममा युग परिवर्तन हुन्छ। जसरी सूर्यको नजिक पुग्दा गर्मी मौसम र सूर्यबाट टाढा हुँदा जाडो मौसम हुन्छ, त्यसरी नै आकाशगंगा तारापुञ्जको केन्द्रको ताराको नजिक हुँदा हाम्रो सौर्य प्रणालीमा सत्य, त्रेता हुँदै केन्द्रको ताराबाट टाढा हुँदै जाँदा द्वापर अनि सबैभन्दा टाढा हुँदा कलि युग हुन्छ। अर्थात कलियुगमा केन्द्रको ताराको सबैभन्दा कम असर हुन्छ।

आकाशगंगा तारापुञ्जको केन्द्रमा रहेको तारासंगको हाम्रो सौर्यमण्डलको दुरीले पृथ्वीमा भएका प्राणीहरुको अवस्थिति (शारीरिक, मानसिक र आध्यात्मिक) तय गर्छ। जति नजिक हुन्छ, त्यति चेतनाको स्तर बढ्छ अर्थात सत्य युग हुन्छ, जति दुरी बढ्दै जान्छ त्यति नै चेतनाको स्तर घट्दै जान्छ, अर्थात त्रेता अनि द्वापर युग आउँछ। सबैभन्दा टाढा हुँदा सबैभन्दा कम चेतनाको स्तर हुन्छ , अर्थात कलि युग हुन्छ।

महाभारतमा हनुमानले भीमलाई सत्ययुगको व्याख्या गर्दा त्यस समय केवल एक धर्म हुने र सबै मानव सन्त हुने भनेका छन्। त्यसैले सत्य युगमा कुनै रितिरिवाज वा क्रियाक्रम हुदैन। धनी र गरिब हुदैन, कुनै मजदुरी काम गर्नुपर्दैन, किनकी मनको शक्तिले नै सबै काम हुन्छ। कुनै रोग हुदैन, न रिस-राग। नकारात्मक सोचाइको कुनै अस्तित्व हुदैन। सबै मानिसले चरम सुख अनुभुत गर्छन्। ‘विश्व आत्मा’ को रंग सेतो हुन्छ, अर्थात प्रकाशमय।

अहिले हामी कलियुगको अन्धकारमा छौ, नैतिकता र सत्य सकिएको समय। तर कलियुग कहिले सुरु भयो? अनि कहिले सकिन्छ? कलियुगको वर्णन गरिएका अधिकांस दर्शन-साहित्यमा पनि कलियुगको सुरु र अन्त्यको समय रहस्यमय छ।

कलियुग सुरु भएको भनिएको सबैभन्दा प्रचलित मिति 3102 BC हो, महाभारत युद्धको अन्त्य भएको ३५ वर्ष पछिको मिति ।

५०० CE मा जब भारतवर्षमा क्यालेन्डर प्रणालीको समीक्षा गरियो, त्यससमयका चर्चित खगोलविद् आर्यभट्टले कलियुग 3102 BC मा सुरु भएको हिसाब निकालेका हुन। महाभारत कथा अनुसार पनि कृष्णको अन्त्य पश्चात कलियुग आउने भनिएको छ। आर्यभट्टले यो मिति संस्कृत खगोलिय ग्रन्थ, सूर्य सिद्धान्तको अनुसार आँखाले देखिने पाँच ग्रहहरु, बुध, शुक्र, मंगल, वृहस्पति र शनी मेषराशी संग शून्य डिग्रीमा पङ्क्तिबद्ध हुँदा कलियुगको सुरुवात भएको बताएका हुन। यस हिसाबमा कलियुग 3102 BC फेब्रुअरी १७/१८ मा सुरु भएको थियो।

तर अहिलेको आधुनिक तवरले हिसाब लगाएर रिचर्ड थोम्सनले यो मितिमा यी ५ ग्रहहरु मेष, मीन र कु्म्भ राशीहरुमा ४२ डिग्री छरिएर आकाशमा वक्र बनाएको पत्ता लगाए। अर्थात आर्यभट्टले भने अनुसार यो मितिमा यी ५ ग्रहहरु मेष राशीमाशुन्य डिग्रीमा नमिनेको देखिन्छ। के आर्यभट्टको हिसाब गलत थियो र? होइन, किनकी सूर्य सिद्धान्त अनुसार कलियुगको सुरु हुँदा यी ५ ग्रहहरुको अवस्थिति माथीभने झै भएको उल्लेख गरिएको छैन। तर यी ग्रहहरुको यस्तो अवस्थिति सत्य युगको अन्त्य हुँदा भएको भने स्पष्ट बताएको छ। अर्थात पछि कलियुगको सुरुवात थाहा पाउने हतारमा सूर्य सिद्धान्तलाई गलत ढंगले व्याख्या गरिएकाले 3102 BC मिति चर्चित हुन पुगेको देखिन्छ।

समय

यी चार युगहरुको कुल समय १२,००० बर्षको हुन्छ। प्रत्येक १२,००० वर्षमा ४ युग सकिन्छ अनि फेरी अर्को चक्र सुरु हुन्छ।
संस्कृतका विभिन्न ग्रन्थहरुमा बताइए अनुसार सत्य युग ४८०० वर्ष, त्रेता ३६०० वर्ष, द्वापर २४०० वर्ष र कलि युग १२०० वर्षको हुन्छ।

सप्तऋषी क्यालेन्डर

सप्तऋषी क्यालेन्डर अनसुार भने प्रत्येक युगको अवधि ३००० वर्षको हुन्छ। यो क्यालेन्डर भारतवर्षमा हजारौं वर्षदेखि प्रयोग हुँदै आएको छ। सप्तऋषी अर्थात सात ऋषिहरु जो यो जन्म मरणको चक्रबाट मुक्त भइसकेका छन्, विश्वास गरिन्छ कि हरेक युगको सुरुवात हुँदा सो कालखण्डको लागि नियम सुनाउन प्रकट हुने गर्छन्। यो क्यालेन्डर अनुसार कलियुग 3676 BC मा सुरु भएको थियो। अर्थात कलियुग सुरु भएको झण्डै ५७०० वर्ष भएको छ। र यो क्यालेन्डर अनुसार सन् २०२५ मा कलियुगको अन्त्य हुनेछ। र त्यसपश्चातको ३०० वर्षसम्म युग परिवर्तनको चरण हुनेछ र त्यसपश्चात द्वापर युग सुरु हुनेछ।

असर

युग परिवर्तन निरन्तर चलिरहेको प्राकृतिक प्रक्रिया हो। जसरी मौसम परिवर्तन हुँदा एकै झटकमा प्राणीहरुको जीवनस्तर उकासिने र गिर्ने गर्दैन त्यसरी नै युग परिवर्तन हुँदा अलौकिक शक्ति प्रकट हुने हुँदैन।

जुनैसुकै युगमा मानवले जिम्मेवार अनि व्यावहारिकअध्यामिक जीवन जीउनु पर्दछ। सत्य युगको अर्थ अध्यात्मिक जीवनको लागि सहज हुने होइन। अर्थात सत्य युगमा पनि केही सित्तैमा आउँदैन। आधार सधै एकै हुन्छ। इच्छा, आकांक्षा, भावना,विचार, कर्म आदी। अन्यको लागि करुणा र प्रेम। जीवनप्रतिको सद्भाव आदी नै जीवनको स्तरको कडी हुन।

सत्ययुगमा भन्दा कलियुगमा त्यो प्राकृतिक शक्ति कम हुन्छ जसले मानवको चेतनालाई नयाँ उचाइमा धकेल्न प्रेरणा दिन्छ, तर शक्ति दिने इन्धन छ, इञ्जिन पनि छ, तर पाइटल नै विमान उडान मान्दैन भने शक्तिले मात्र केही गर्दैन। जबसम्म आफ्नो भविष्यको जन्मदाता आफु नै हो भन्ने ज्ञान जाग्दैन, कर्मले नै नतिजा तय गर्छ भन्ने चेत हुँदैन, तबसम्म युग परिवर्तन भएअनुसार प्राकृतिक शक्तिमा हुने फेरबदलले सो प्राणीको चेतनालाई उचाल्न सक्दैन। सुख, खुसी, परमआनन्द र अन्ततः मोक्षको साक्षत्कार व्यक्तिले आफ्नो लागि आफैले मात्र गर्न सक्दछ।

आफ्नै बाटो

के तपाईले जीवनमा अहिले गरिरहनुभएको कर्मलाई नयाँ उचाइमा पुर्याउन सक्नुहुन्छ, मन वसमा गरि समाधि अनि समाधि पश्चात परम-सुखको अनुभव गर्ने बाटोमा हिड्न सक्नुहुन्छ, नजिता केवल तपाइको निर्णय अनि त्यसपश्चातको कर्मले तय गर्छ। कलियुगमा सत्ययुगको प्राणी झै जीवन व्यतित गर्ने वा सत्य युगमा चेतनाहिन प्राणी झै जीवनको अनुभव लिने, यो दुवै बाटो रोज्ने र सो बाटोमा हिड्ने, हरेक व्यक्तिले आफ्नो क्षमताले तय गर्छ, प्रकृतिले यो विषय व्यक्तिलाई जिम्मा दिएको छ।

प्रतिक्रिया

सम्बन्धित