क्षतिपूर्ति दिने सहमतिपछि मिल्यो विवाद

भद्रपुर । उपचारको क्रममा युवतीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा बल्झिएको विवाद साम्य बनेको छ । पीडित पक्षले अस्पताल तोडफोड र प्रहरीले आश्रु ग्यास प्रहारसँगै लाठी चार्ज गर्दा घटनाले उग्ररुप लिएको थियो । घटना उग्ररुप लिएपछि अस्पताल प्रशासन र पीडित पक्ष भएको वार्तामा दुई बुँदे सहमति भएपछि बल्झिएको विवाद साम्य बनेको हो । बिर्तामोड नगरपालिकामा सोमबार बिहान दुई बजेसम्म दुवै पक्षबीच भएको वार्तामा उपचारका क्रममा मृत्यु भएका युवतीका परिवारलाई समवेदना स्वरूप ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र उपचारमा संलग्न चिकित्सकको लापरबाही भएको वा नभएको बारेमा छानबिन गर्ने सहमति भएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र कुमार लिङदेनको संयोजकत्वमा बनेको नौ सदस्य छानबिन समितिले १० दिन भित्रमा बिर्तामोड नगरपालिकामा प्रतिवेदन बुझाउने गरी सहमति भएको छ । छानबिन समितिमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अस्पतालका प्रतिनिधि र पीडित पक्षका प्रतिनिधि समेत रहेका छन्। सहमतिपत्रमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रबकुमार सिवाकोटी र अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाको रोहवरमा हस्ताक्षर भएको छ ।

इलामको सूर्योदय नगरपालिका ९ फिक्कल निवासी २१ वर्षीया देवीका तामाङको गत बुधवार कनकाई अस्पतालमा एपिन्डीसको शल्यक्रियाका गरिएको थियो । शनिवारसम्म स्वस्थ रहेको युवती तामाङको आइतबार मृत्यु भएको थियो। युतवीको मृत्यु पश्चात् उनका आफन्तजनहरूले उपचारमा संग्लन चिकित्सक सन्तोषकुमार मिश्रलाई कारबाहीको माग गर्दै अस्पताल परिसरमै शव राखेर विरोध प्रदर्शन उत्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित