धरानमा यसरी फैलदैछ डेंगुको महामारी

धरान । धरानमा करिब चार हप्तादेखि धरानलाई डेंगु ज्वरोको महामारीले फैलिएको छ । फरक फरक भाईरस भएको डेंगुले धरान त्रसित हुन पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशक डा. गौरीशंकर साहले एउटै प्रकारको भाइरस डेन टुबाट धरानमा डेंगु संक्रमण फैलिएको छ । ‘यो अहिले जोखिमको अवस्था होइन । तर, मनसुन पछि पुनः डेंगु संक्रमण फैलिनसक्ने र त्यसबेला अर्को प्रकारको भाइरसको सक्रमण भयो भने चै खतरा हुन्छ,उनी भन्छन् ।

चिकित्सकहरुका अनुसार डेंगुको डेन वान, डेन टु, डेन थ्री र डेन फोर गरि चार प्रकारको भाइरस हुन्छ । डेन वानबाट डेंगु संक्रमण भएको व्यक्तिलाई फेरि २ वा ३ भाइरसबाट डेंगु भएमा खतरा हुन्छ । जुन भाइरसबाट डेंगु भएको हो, फेरी त्यही भाइरसबाट हुदा खतरा हुदैन । तर, अर्को भाइरसबाट फेरि डेंगु भएमा भने स्वास्थ्यमा खतरा हुने चिकित्सकहरुको भनाई छ ।

बीपी प्रतिष्ठानमा बैशाख ३१ गतेदेखि जेठ २० गतेसम्म ३ सय ५६ जनामा परीक्षण गरिएको थियो । ती मध्ये १ सय २३ जनामा डेंगु ज्वरो पोजेटिभ देखिएको असिस्टेण्ड डाइरेक्टर डा.विकास साहले जानकारी दिए । कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले जनपरिचालन गरेर जनचेतना फैलाउने र लामखुट्टेको बासस्थापन पत्ता लगाएर अण्डा, लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी भएको बताईन ।

प्रशासनका अनुसार बैशाख ३१ गते १ जनामा डेंगु देखिएको थियो भने जेठ ३ गते १ जना, जेठ ६ गते ५ जना, जेठ ७ गते ३ जना, ८ गते १ जना, ९ गते ७ जना, १० गते ७ जनामा डेंगु पोजेटिभ देखिएको थियो । त्यसैगरि, जेठ ११ गते १ जना, १२ गते १३ जना, १३ गते ७ जना, १४ गते ५ जना, १५ गते ३ जना, १६ गते ९ जना, १७ गते १२ जना, १८ गते ५ जनामा देखिएको डेंगु १९ गते २६ जनामा र २० गते १७ जनामा पोजेटिभ देखिएको थियो । प्रतिष्ठानबाहेक विजयपुर हस्पिटलमा पनि जेठ २० गतेसम्म २५ मा डेंगु पोजेटिम देखिएको उक्त हस्पिटलका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित