उदयपुरमा विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द

उदयपुर / उदयपुरमा एक विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । त्रियुगा नगरपालिका ६ घनचक्रे आधारभूत विद्यालयका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

केही दिनदेखि यहाँका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने, कराउने चिच्याउने, धामी जस्तै खेल्ने, पुरै बेहोस नहुने, मुठ्ठी बाँध्ने लगायतका कार्य गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र काफ्लेले जानकारी दिए । बिरामीका अभिभावक तथा नगर स्वास्थ्यकर्मीको टोलीले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले मंगलबारबाट एक हप्ताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यपक काफ्लेको भनाइ छ । “केही अभिभावकले धामी–झाँक्री कहाँ देखाउने भन्नुभएको छ भने केहीले स्वास्थ्य संस्थामा लैजाने भन्नु भएको छ”, काफ्लेले भने ।

काफ्लेका अनुसार गत जेष्ठ २ गते कक्षा २ मा पढ्ने ६ वर्षिय सकुन्तला तामाङ एका एक मुर्छा पर्ने, रुने कराउन थालेपछि अभिभावकलाई सम्पर्क गर्न खोज्यौ तर नेटवर्कको कारण सम्पर्क हुन नसकेपछि मोटर साइकलमार्फत अभिभावककै घरमा लगेर जिम्मा लगाए । उनी पहिलेदेखि नै विरामी हुने गरेको अभिभावकको भनाई रहेको छ ।

हप्ता दिन नपुग्दै अर्का कक्षा ५ मा पढ्ने १० वर्षिय विद्यार्थी टिका कुमारी तामाङ पनि उस्तै रोगले च्यापेपछि उनलाई टेम्पोमार्फत अभिभावकको जिम्मा लगाएको प्रअ काफ्लेले बताए । त्यसको तीन दिनपछि अर्थात १५ गते बुधबार एकै पल्ट तीन जना विद्यार्थी विरामी परे । उनीहरुको लक्ष्ण पनि पहिलेकै जस्तो देखियो । मुर्छा पर्नेमा कक्षा ५ मा अध्ययनरत समिर राउत, कक्षा ४ मा अध्ययनरत टेक बहादुर विक र कक्षा १ मा अध्ययनरत सर्मिला तामाङ मुर्छा पर्ने, व्युझिएपछि उफ्रिने, रुने कराउने लगायतको लक्ष्ण देखा पर्यो ।

१७ गते शुक्रबार एकाएक चार जना विद्यार्थी मुर्छा पर्ने, रुने कराउने थाले । रुने कराउनेमा कक्षा ३ मा अध्ययनरत रितु तामाङ, कौशिला खत्री, वर्षा तामाङ र सारिका तामाङ रहेका छन् । प्रअका अनुसार पढ्दै गरेका विद्यार्थी एक्कासि मुर्छा पर्ने, ब्युँझिएपछि विद्यार्थीको टाउको र हातखुट्टा दुख्ने, रिङ्गटा लाग्ने र रुने कराउने जस्ता लक्षण देखिने गरेको छ ।

त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष निर्मल कुमार चौधरीका अनुसार यस विद्यालयमा देखिएको समस्यालाई हामीले नगरपालिकामा जानकारी गराएको बताए । उनका अनुसार नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले सेवा दिईरहेकोले केही कत्तै निको नहुने, अरुमा रोग सरेमा विशेषज्ञ सहितको टोली परिचालन गर्नु पर्ने बताए ।

गत शुक्रबारसम्म मुर्छामा परेका ९ जना विद्यार्थीको नगर स्वास्थ्य शाखा प्रमुख सहितको टोलीले उपचार गरेको थियो । “विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, उपचारमा संलग्न जिल्ला अस्पताल उदयपुरका डा. असोक तिवारीले जानकारी दिए । उनका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरूमा सर्दैन । “एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, डा. तिवारीले भने । धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ । डा. तिवारीले भने, “धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई डिस अर्डर ‘मास हिस्टेरिया’ को क्याटागोरी भित्रकै रोग हो ।”

विद्यालयमा बढी होमवर्क र घरमा अभिभावकको पढ् पढ भनि रहँदा विद्यार्थीमा मानसिक तनाव हुने गरेकोले यस्तो रोग देखा पर्ने गरेको छ । यस विद्यालयमा ७३ जना बालबालिका अध्ययनरत छन् । उनीहरुको उमेर बढीमा ११ बर्ष भन्दा माथि नभएको एक शिक्षकले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित