धरान पश्चात इटहरीमा पनि डेंगुको बिरामी फेला

इटहरी/ इटहरीमा पनि डेंगुको बिरामी फेला परेका छ । इटहरी वडा नं. ८ की २४ वर्षीया प्रमिला कार्की डेंगुको बिरामी भएको स्वास्य जाचको क्रममा खुलेको हो । कार्की पाँच दिनअघि इटहरीको एपेक्स हस्पिटलमा ज्वरो आएर भर्ना भएकी थिइन् । हस्पिटलले रगत परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा रिपोर्टमा डेंगुको संक्रमण देखिएको हो । हस्पिटलका डाक्टर सतिस निरौलाले कार्कीमा डेंगु रोग भएको पत्ता लागेपछि थप उपचार गर्न अन्यत्र पठाइएको बताए । अहिले कार्कीको मोरङ सहकारी अस्पतालमा उपचार भइरहेको छ।

कार्की तीन दिनदेखि मोरङ सहकारीमा उपचार गराईरहेकी छन् । ‘अहिले सुधार भइरहेको छ,’ उनले भनिन, ‘कुनै थप समस्या नभएमा अब शनिबार (आज) डिस्चार्ज दिन सक्छ ।’ यदि कुनै समस्या भएमा थप केही दिन उपचार गराउनुपर्ने चिकित्सकको सल्लाह रहेको कार्कीले नागरिकसँग टेलिफोनमा शुक्रबार भनिन् । इटहरीमा कार्की डेंगुको बिरामी भएको खुलेसँगै अन्य पनि हुन सक्ने इटहरी अस्पतालका हेल्थ सहायक रामकुमार धमलाले जनाए ।

सुनसरीको धरानमा बैशाख ३० गतेदेखि यता डेंगुका बिरामी दिनप्रतिदिन बढ्दो छन् । धरान उपमहाननगरपालिका स्वास्थ्य विभाग प्रमुख घनश्याम सिग्देलका अनुसार अहिलेसम्म ६० जनामा डेंगु रोग भएको पुष्टि खुलेको छ। ‘बिरामीको संख्या बढीरहेको छ । डेंगु नियन्त्रण गर्नका लागि ¥यापिड रेस्पोन्ट टिम परिचालन गरि सकिएको छ,’ उनले भने, ‘जिल्ला, प्रदेश र केन्द्रसँग पनि समन्वय गरिएको छ।’ उनका अनुसार डेंगु नियन्त्रण गर्न घरदैलो अभियान गरेर सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भएको छ।

डेंगु रोगबाट धरानबाहेक अन्य स्थानमा समस्या नभएको स्वास्थ्य कार्यालय सुनसरीका सहायक प्रमुख पुन्य सिग्देलले बताए । ‘इटहरीमा पनि बिरामी फेला परेको आधिकारिक जानकारी भने छैन,’ उनले भने, ‘अहिले हाम्रो ध्यान पूर्ण रुपमा धरान केन्द्रित छ।’

प्रतिक्रिया

सम्बन्धित