अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने

रुकुमपश्चिम / आठबीसकोट नगरपालिकाले स्वास्थ्य बीमालाई अनिवार्य गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षको असार मसान्तसम्म नगरभरिका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । सोका लागि नगरका वडाध्यक्षको नेतृत्वमै विशेष अभियान सञ्चालन गरिने भएको छ । वडा नं ३ खदीमा बसेको ३२ औँ नगरकार्यपालिकाको बैठकले स्वास्थ्य बीमा कार्यक्रमलाई नगर भरीमा अनिवार्य रुपमा लागू गर्ने निर्णय गरेको हो । कोही पनि नगरवासी पैसाको अभावमा स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ स्वास्थ्य बीमालाई अनिवार्य गर्न लागिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो ।

आगामी आवदेखि लागू हुने गरी नगरमा स्वास्थ्य बीमालाई अनिवार्य गरिएको र स्वास्थ्य बीमा नगर्नेलाई नगरले विभिन्न सेवाबाट वञ्चित गर्ने उहाँको भनाइ छ । स्वास्थ्य बीमा नगर्ने व्यक्ति तथा घर परिवारलाई उपभोक्ता समिति, सहकारी लगायतका सङ्घ संस्थामा रहनबाट वञ्चित गराइने नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाबाट आर्थिक सहायता उपलब्ध गराउँदा, प्राकृतिक प्रकोप पीडित राहत उपलब्ध गराउँदा एवं अन्य सहायता तथा अनुदान उपलब्ध गराउँदा अनिवार्य रुपमा स्वास्थ्य बीमा कार्ड पेश गर्नुपर्ने छ ।

यसका साथै स्वास्थ्य बीमा नगर्ने घर परिवारलाई नगरपालिका तथा वडा कार्यालयबाट दिइने सिफारिस, प्रमाणित तथा अन्य सेवा सुविधाबाट पनि वञ्चित गरिने नगरप्रमुख केसीले स्पष्ट पार्नुभयो । स्वास्थ्य बीमा गर्ने नागरिकले मालपोत करमा समेत छुट पाउने भएका छन् ।

हालसम्म आफूखुशी बीमा गरिरहेका नगरवासीले अब भने अनिवार्य रुपमै स्वास्थ्य बीमा गर्नुपर्ने बाध्यात्मक व्यवस्था नगरपालिकाले गरेको छ । तर स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न परिवारको भने नगरपालिकाले नै बीमा गरिदिने भएको छ । नगरमा रहेका अति विपन्न घर परिवारको परिचान गरी उनीहरुलाई गरीब तथा विपन्नताको परिचयपत्र उपलब्ध गराइ निःशुल्क स्वास्थ्य बीमा गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित