पूर्वप्रअ खनाललाई रु २१ लाख बिगो भराउन माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित समयनाथ माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनाल जैसीलाई रू २१ लाख ३९ हजार ६०५ पैसा चार विगो असुलउपरका लागि माग दावी गरेको छ । आयोगले आज माग दावीसहित आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरेको छ । खनालले विद्यालय व्यवस्थापनका विविध विषयमा अनियमितता गरेको भन्दै सो बिगो भराउन माग दावी गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल र विद्यालयका वर्तमान प्रधानाध्यापक गिरिराज गैरेसँगको मिलेमतोमा विद्यालयको सम्पूर्ण क्रियाकलाप तथा सञ्चालनमा लापरवाही गर्दै आएको र विभिन्न निकायबाट आएको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

तत्कालीन प्रधानाध्यापक खनालले महायज्ञमा सङ्कलित रकम हिनामिना गरेको, दरबन्दीका शिक्षकलाई अनियमित तवरले तलबभत्ता खुवाएको र विद्यालयमा दरबन्दीका शिक्षक बढी हुँदाहुँदै निजी स्रोतमा शिक्षक राखी विद्यालयलाई हानि पु¥याएको भन्ने उजुरी परेको थियो ।

त्यसमा छानबिन हुँदा अनियमितता पाइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विद्यालयका शिक्षक दधिराम न्यौपाने र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष भुसालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि गर्दै आयोगले जनही रु छ लाख सात हजार ७० रुपैयाँ पैसा ८६ बिगो भराउन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित