कक्षाकोठामा हल्ला गरेको भन्दै शिक्षकले मरणासन्न हुनेगरी विद्यार्थी कुटे

काठमाडौ । कक्षाकोठामा हल्ला गरेको भन्दै शिक्षकले विद्यार्थीलाई निलडाम हुने गरि पिटेका छन् । शिक्षकको कुटाइबाट नारायणगढ स्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयका विद्यार्थी सुविन सुनार घाईते भएका छन् । कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सुनारलाई अनुशासन पालना नगरेको आरोपमा शिक्षक निराजन भट्टले सुनारको ढाडमा निलडाम हुने गरि पिटेका हुन् । उनको उक्त कार्यको अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

साथीलाई उसको किताब दिने क्रममा हल्ला गर्यो भन्दै आफूलाई कुटेको सुनारले जानकारी दिए । ति विद्यार्थीले रुदैं भने, ‘सरले मलाई १० पटक भन्दा बढी मुड्कीले कुट्नु भयो । सरले कक्षा कोठाबाट अफिसमा लगेर वालम्यापको डण्डिले पनि पिट्नु भयो । मलाई पिट्दा डण्डी नै भाँचियो, मलाई सहनै नसक्ने गरि दुख्यो तर छोड्नुभएन ।’ विद्यार्थीलाई कुटे लगत्तै शिक्षक भट्टले विद्यार्थीका बाबुलाई फोन गरेर तपाईंको छोरालाई विद्यालयबाट लैजानुस्, यसलाई हामीले पढाउन सक्दैनौं भनेर सुनाएको बुबा धनप्रसाद सुनारले जानकारी दिनुभयो ।

आफ्नो छोरालाई कुटेको भन्दै विद्यार्थी सहितका अभिभावक र पत्रकार शुक्रबार विहान विद्यालय पुगेका थिए । साढे ११ बजेतिर विद्यालय आएका प्रधानाध्यापक बिष्णु सापकोटाले पत्रकारलाई किन ल्याएको ?

भन्दै आपत्ति जनाएको धन बहादुरले जानकारी दिए । तर पछि छलफलका क्रममा सापकोटाले कैले काँही सम्झाउन खोज्दा यस्तो भएको हुन सक्ने बताउँदै घटनाले आफू पनि दुखी भएको भनेका छन् । आगामी दिनमा यस्ता घटना नदोर्होयाउने प्रतिवद्धता गर्दै घाइते विद्यार्थीको उपचार खर्च शिक्षक भट्टले व्यहोर्ने सापकोटाले जनाउनुभयो ।

अभिभावकका अगाडी शिक्षक भट्टले पनि आफूबाट गल्ती भएको र आगामी दिनमा यस्तो नगर्ने वाचा गरेका छन् । बिहिवार छैटौं पिरियडमा होहल्ला गरेको भन्दै सम्झाउने क्रममा आफूले गल्ती गरेको शिक्षक भट्टले स्वीकार गरे । उनले भने, ‘भनेको पनि मान्दैन, कक्षामा हल्ला बढी गर्छ, पढाइ भएको यतिका दिनसम्म पनि किताब नबोकी विद्यालय आउँछ, बेल्ट पनि लाउँदैन, त्यही भएर उसलाई कुटेको हुँ । म बाट गल्ती भएको छ ।

आगामी दिनमा यस्तो हर्कत दोर्होउने छैन । घाइते विद्यार्थीको उपचार खर्च मै ब्यहोर्छु ।’ गत वर्ष देखि उक्त विद्यालयमा पढाउँदै आएका भट्ट निजी श्रोतमा नियुक्त भएका हुन् । जनबाेली

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित