हाबाहुरीले विद्यालय भत्काएपछि पठनपाठन प्रभावित

पर्वत / हुरीबतास र असिनापानीका कारण पर्वतका दुई विद्यालय पूर्णरूपमा भत्किएका छन् । बुधवार दिउँसो आएको ठूलो हुरीबतासका कारण पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित जनज्योति प्राविको चारकोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यायको भवनमा समेतमा क्षति पुगेको छ । विद्यालयको छाना उडाएपछि विद्यार्थीको पढाई समेत प्रभावित हुने भएको छ । बुधवार अन्तर्राष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेकाले मानवीय क्षति हुन नपाएको प्रधानाध्यापक नरबहादुर जिटीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय तत्काल मर्मत गर्न नसकेमा पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको छ । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा झण्डै १०० विद्यार्थी छन् ।

विद्यालयका दुईवटै भवनको छाना उडाएको र पर्खालमा समेत क्षति पुगेको छ । स्थानीयवासीका अनुसार अहिलेसम्मकै ठूलो हुरी चलेको हो । भवन पुनःनिर्माण नै गर्नुपर्ने गरी भत्किएकाले तत्कालका लागि त्रिपाल टाँगेर पढाइ सञ्चालन गर्ने तयारी भएको प्रअ जिटीले बताउनुभयो ।

त्यस्तै कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कस्थित औँसेलुचौरमा रहेको प्रगति प्राविको भवनसमेत पूर्णरूपमा भत्किएको छ । विद्यालयको चारकोठे भवन पूर्णरूपमा क्षति पुगेको स्थानीयवासी नवराज क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय मर्मत गरेर नियमित पठनपाठन सञ्चालन गर्न केही दिन लाग्ने भएकाले बन्द गर्नुपरेको बताउनुभयो । संयोगले हिजो बिदाको दिन परेकाले ठूलो क्षति हुन नपाएको हो । हावाहुरी र असिनाले जिल्लाको पिपललटारी, कटुवाचौपारी, शङ्करपोखरी, धाइरिङ, पाङ, दुर्लुङलगायतका क्षेत्रका बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

त्यस्तै जिल्लाको जलजला गाउँपालिकाको शालिजा, धाइरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठुलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशिलाको लुङ्खुदेरालीलगायतका क्षेत्रमा बाक्लो असिना परेको छ । आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कार्यालय प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठूलो क्षति पुगेको भए पनि यकिन विवरण भने आइसकेको छैन ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित