गाउँमै सिटामोल

संखुवासभा / सकेसम्म झारफुक र ओखतीमुलोले काम गरिरहेकै छ, बिराम सबैको उस्तै नहुँदो रहेछ, कहिलेकाहीँ अस्पतालसम्म जानुपर्छ, उमेरले ७० पार गरेका डम्बर बहादुर तामाङले भने । मर्ने बेला हुनलाग्दा भएपनि गाउँमै डाक्टर आएको छ । बल्ल सरकार आए जस्तो लाग्यो, उनले हाँस्दै भने । तर उनी हाँस्दा मुखभरीका दाँत देखिएनन् ।

पाँचखपन नगरपालिका १ बुद्ध चौकमा साता अघि शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको थियो । नगर प्रमुख विपिन राई, वडा अध्यक्ष टेक बहादुर बुढाथोकी लगायत स्थानीयहरुको उपस्थितिमा केन्द्रको उद्घाटन गरिएको हो । यहाँ केन्द्रको आप्mनै भवन पनि निर्माण भइरहेको छ । तर स्थानीय बासीहरुको पहलमा साँघुरो कोठा बाटै भएपनि सेवा प्रवाह भइरहेको छ । केन्द्र स्थापना भएपछी खहरे, ओक्तेन, चौदण्डी र मुढेका करिब सय घरपरिवार लाभाम्वित भएका छन् ।
सामान्य बिरामी पर्दा मात्रै पनि सिटामोल लिन दुई घण्टा हिड्नु पर्ने समस्याको समाधान भएको राज कुमार तामाङ बताउँछन् ।

कसैकसैले स्वास्थ्य संस्था तथा औषधी पसल पुग्दा सिटामोल, निमोनिया जस्ता औषधी किनेर ल्याउने गर्छन्, बिरामी पर्दा कसैले ल्याएका छन्की भनेर गाउँभरी खोज्नु पर्छ, कतै नपाउँदा दुई घण्टा हिड्नु हाम्रो रहर होइन, उनी भन्छन् । तर अहिले नजिकै स्वास्थ्य संस्था छ । केही भईहाले दुई घण्टा कुद्नै पर्दैन । उनले सुखको श्वास फेरे ।

खहरे बुद्ध चौकबाट स्वास्थ्य चेक जाँच गर्नका लागी मात्र सभापोखरी गाउँपालिका ६ खोक्राङको मेडिकलमा पुग्नु पर्ने हुन्थ्यो । स्याबुन स्वास्थ्य चौकी जानलाई पनि समय उति नै लाग्छ । तर स्वास्थ्य चौकीमा भन्दा मेडिकलमा राम्रो सेवा हुने गरेको भन्दै यहाँका स्थानीयहरु खोक्राङ नै जाने गरेका थिए । अहिले गाउँमै सेवा सञ्चालन भएपछी समय खर्चिएर जानुपर्ने बाध्यता हटेको छ । विकास र समृद्धीसंग जोडिएको शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता गाउँसम्म पुग्दा दुर्गमका जनताहरु दंग छन् । सरकारले ल्याएको शहरी स्वास्थ्य केन्द्र गाउँ गाउँमा स्थापना हुँदा उनीहरुलाई झनै सहज भएको छ ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित