विकासका लागि शिक्षामा लगानी आवश्यक : पूर्वमन्त्री

सुर्खेत / पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले विकासका लागि शिक्षामा लगानी आवश्यक भएको बताउनुभएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१२ गुप्तीपुर सुर्खेतस्थित अमरज्योति माविको नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रममा सोमबार गर्दै पूर्वमन्त्री कँडेलले शिक्षामा गरिने लगानीले मात्र विकास सम्भव हुने बताउनुभयो । “अमरज्योति यो प्रदेशको उदाहरणीय विद्यालय हो,” उहाँले भन्नुभयो, “यसलाई प्रादेशिक नमूना विद्यालय निर्माण गर्न पहल गर्छु ।”

अमरज्योतिमा प्रदेशका सबै जिल्लाबाट आएका विद्यार्थी अध्ययन गर्ने भएकाले यसलाई सुविधासम्पन्न र नमूना विद्यालयका रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड थियो । शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले गुणस्तरीय शिक्षाको आधार निर्माण गरेको अमरज्योति देखाउन लायकको विद्यालय भएको टिप्पणी गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले सामान्य तथा प्राविधिक दुवै धारको शिक्षा दिइरहेको अमरज्योतिलाई प्रदेशकै बहुप्राविधक महाविद्यालयका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले अमरज्योति कर्णाली प्रदेशका सबै विद्यार्थी अध्ययन गर्ने विद्यालय भएको जनाउँदै यसलाई प्रदेशकै प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने अभियानमा लाग्ने बताउनुभयो । चालू आर्थिक वर्षमै सम्पन्न गरिने उक्त भवन निर्माणार्थ प्रादेशिक निर्वाचन क्षेत्रगत प्रदेशस्तरीय नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले बजेट विनियोजन गरेको थियो । नयाँ भवनको अनुमानित निर्माण लागत रु ५९ लाख रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित