अचम्म ! श्यामको अनौठो सोख, जो सर्प समातेर घरमा पाल्छन्

झापा / सुन्दा पनि आङ सिरिङ्ग हुने सोख भएका व्यक्ति हुन् झापाका श्यामकुमार प्रधान । उनको सोख जति अनौठो छ, चुनौती पनि उस्तै । उमेरले ६६ बर्ष पुगेका अर्जुनधारा नगरपालिका ५ का श्यामकुमार प्रधानको दैनिकी बिषालु सर्पसँग खेलेर बित्ने गरेको छ । प्रधान सजिलैसँग सर्प समाउछन् । झोलामा राखेर घर ल्याउछन् । उनले सर्प पाल्नका लागि खोर बनाएका छन्, त्यही राख्छन् । केही दिन पालेपछि जंगलमा लगेर ती सर्पलाई छोडिदिन्छन् । प्रधानले यसरी सर्प समाउने, केही दिन घरमा पाल्ने र फेरी जंगलमा छोडिदने गर्न थालेको को २० बर्ष पुगिसक्यो । उनी गोमन, करेत, राजासाप लगायत बिषालु र खतरनाक सर्प पनि समाउछन् । ती सर्पलाई नजिकैको दहिझोडा सामुदायिक वमा छोड्छन् ।

प्रकृतिले हामी सबैलाई साझा पृथ्वी दिएको हो, त्यसैले हामीलाई असर पार्छ भन्दैमा सर्प मारिहाल्न नहुने प्रधानको तर्क छ । सम्पुर्ण जनावारको बाँच्न पाउने हकको सबैले सम्मान गर्न पनि उनको आग्रह छ । ‘पर्यावरणीय सन्तुलनको लागि बिषालु सर्पको भूमिका महत्वपूर्ण छ,’प्रधानले भन्छन् । घर परिवारका सदस्यले पटक/पटक यस्तो काम नगर्न आग्रह गरेपनि उनले छोडेका छैनन् । श्रीमती, दुई छोरा बुहारी र दुई नाति नातिनाका धनी प्रधानले उनीहरुको आग्रह अस्विकार मात्र गरेर सर्प समाउने कर्मलाई जारी राखेका छन् । प्रधानकी श्रीमति मिरालाई भने सर्पसँग अति नै डर लाग्दो रहेछ । तर आफ्नै श्रीमानले सर्प समाएर घरमा ल्याउन थालेपछि भने अहिले उनलाई पनि बानी परिसकेको छ ।

२००९ सालको नागपञ्चमीको दिन जन्मिएका श्यामलाई देख्ने बित्तिकै सर्प आँफै लट्ठिने गरेको उनको भनाई छ । सुरुमा साधारण बाँसको अखनीले सर्प समाउने गरेको भएपनि अहिले उनी स्नेक क्याचरको सहायताले सर्प समाउने गर्छन् । मान्छेले लाखौं रुपैयाँमा कुकुर, खरायो किनेर पाल्छन्, त्यो सोखकै लागि हो । तर उनी भने सर्प समाएर उद्दार गर्दै आइरहेका छन् । यो उनको सोख मात्र नभएर आफ्नो धर्म, कर्म पनि भएको बताउँछन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित