पैँचो मागेर परीक्षार्थीलाई पानी

ओखलढुंगा : चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी अचेल एक बोतल पानीले खाना बनाउँछन्। त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन्। छोरीले परीक्षा दिएर फर्केपछि पैँचो तिर्नुपर्छ। अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन्। उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो। डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बोतल बोकेर पुग्छन्।

अनि पानी ल्याएर घरबेटीलाई पैंचो तिर्छन्। यी दुई छात्राको मात्र होइन, एसईई दिन आएका झन्डै एक हजार विद्यार्थीको समस्या हो यो। परीक्षार्थीहरू बिहान घरबेटीसँग पानी पैंचो माग्छन् र परीक्षा दिएर आएपछि धाराबाट ल्याएर तिर्छन्। ७० वर्षीया मधु पोखरेलले आफूले घन्टौं लगाएर ल्याएको पानी त्यत्तिकै दिन नसकेको बताइन्। उनले भनिन्, ‘कष्ट गरेर ल्याएको पानी बेलुकाका लागि आवश्यक हुन्छ।’ निसंखेका बासिन्दाले लामो समयदेखि खानेपानी हाहाकार व्यहोर्दै आएका छन्।

एक सय ४१ घरधुरी रहेको निसंखेमा खानेपानी जोहो गर्न खोला र खोल्सा धाउनुपर्छ। स्थानीय युवा जीवन कटवाल खानेपानीको बर्सेनि हाहाकार हुने गरेको बताउँछन्। उनले भने, ‘खानेपानीको जोहो गर्नै समस्या छ।’ खानेपानीका मुहान सुक्दै गएपछि गाउँबाट टाढा रहेका जोरधारा तथा निगालेको ढुंगेधाराबाट उपभोक्ताले पानी ल्याउने गरेको कटवालले जानकारी दिए।
एसईई चलिरहेकाले अन्य विद्यालयबाट समेत परीक्षा दिन निसंखेमा डेरा गरी बस्न आएका विद्यार्थीलाई खानेपानी अभाव भएको छ। यहाँ चार माध्यमिक विद्यालयका एक हजार विद्यार्थी र तिनका अभिभावक डेरा गरेर बसेका छन्।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित