मनमोहन पोलिटेक्निक इन्स्टिच्युट अब प्राविधिक विश्वविद्यालय

विराटनगर /  प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेशसभाको यही अधिवेशनबाट मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालयका रुपमा स्थापना गरिने बताउनु भएको छ ।

विष्णुमाया पुस्तकालय विराटनगर–१ द्वारा आज यहाँ आयोजित पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जलिसभामा मन्त्री आङ्वोले स्व अधिकारीको सपनालाई साकार बनाउन प्राविधिक विश्वविद्यालय स्थापना गरी युवालाई दक्ष जनशक्तिका रुपमा तयार गरिने बताउनुभयो । “आगामी वर्षदेखि आङ्गिक क्याम्पसले पठनपाठन शुरु गर्नेछ”, उहाँले भन्नुभयो । स्व अधिकारीले मुलुकको विगतमा संविधान निर्माण गर्ने कार्यमा सन्तुलित भूमिका निर्वाह गरेको मन्त्री आङ्वोको भनाइ थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकारी र बालकृष्ण पोखरेलको निधनबाट अपूरणीय क्षति पुगेको बताउनुभयो । प्रदेशसभा सदस्य लीलावल्लभ घिमिरेले स्व अधिकारीले राजनीतिलाई निष्ठा, आदर्श र समाजसेवाका रुपमा प्रयोग गर्नुभएकाले यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । सभामा पूर्वशिक्षामन्त्री राधाप्रसाद घिमिरे, पूर्वसङ्घीय सांसद ऋषिकेश पोखरेल, कृष्ण पोखरेल, डा भेषप्रसाद धमलालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित