प्रविधिको दुरुपयोगले वढायो मानसिक समस्या

सुनसरी, सूचना र प्रविधिमा भएको दु्रत परिवर्तनले मानसिक समस्या वढाएको पाइएको छ । विकासोन्मुख देशहरुमा बढ्दै गएको मानसिक समस्याप्रति देश विदेशका मनोचिकित्सकहरुले गम्भिर चासो देखाएका छन् । उनीहरुले समस्याको कारण पहिल्याउँदै समाधानका उपाय समेत सुझाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै सम्पन्न नेपाल मनोचिकित्सक संघको सातौं राष्ट्रिय सम्मेलनमा सूचना र प्रविधिमा द्रुत गतिमा भएको परिवर्तनका कारण समेत मानसिक स्वास्थ्यमा चुनौती थपिँदै गएको पाइएको कार्यपत्र प्रस्तुत भएको थियो ।

परिवर्तन चाँडो चाँडो हुने तर त्यसका लागि विकासोन्मुख देशका जनतामा आवश्यक चेतना र पूर्वतयारी नहुनुले मानसिक स्वास्थ्यमा चुनौती थपिएको बदलिँदो विश्वपरिस्थितिमा मनोस्वास्थ्यका विविधि आयाम विषयमा अष्ट्रेलियाका प्रा.डा. मोहन आइज्याकले मूल प्रस्तुति राख्नुभएको थियो । एम्स कलेज नयाँ दिल्लीका प्रा. डा. एस.के. खण्डेलवालले विकासोन्मुख मुलुकहरु अझ बढी खतरामा रहेको तथ्य प्रस्तुत गर्नुभएको छ । उहाँले प्रविधिको सदुपयोगभन्दा बढि दुरुपयोग हुनुले मानसिक स्वास्थ्यमा चुनौती थपिदिएको बताउनुभएको छ ।

पूर्वतयारी विनाको परिवर्तनका कारण समस्या खडा भैरहेको उहाँहरुको तर्क छ । परिवर्तनको असर स्वभावैले सबैभन्दा कमजोर पक्षमा बढि पर्ने भएकोले मानसिक स्वास्थ्यका कारण बालबालिकाहरुमा पनि आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । विकासोन्मुख देश र विकसित देशहरुमा मानसिक स्वास्थ्य सम्वन्धि चुनौती फरक फरक पाइएको छ । सम्मेलनका मुख्य वक्ता अष्ट्रेलियाका प्रा.डा. मोहन आइज्याकले ग्लोवलाइलेजनका कारण मानसिक स्वास्थ्यमा चुनौती थपिएको उल्लेख गर्नुभएको छ । धनीहरु झन्झन् धनी बन्दै जानु र गरीब झन् झन् गरीब बन्दै जानु, सामाजिक परिवर्तनसँगसँगै परिवार टुक्रिँदै जानु, परिवारका सदस्यलाई समय दिन नपाउनु, बढ्दो आधुनिकता र डिजिटल लाइफले मानसिक स्वास्थ्यमा चुनौती थपेको उहाँले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ ।

महिलामा हुने यौन दुब्र्यवहार र हिंसाका कारण महिलाको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको प्रा. डा. इन्दिरा शर्माले उल्लेख गर्नुभएको छ । आयोजक समितिका अध्यक्ष प्रा. डा. बैकुण्ठराज अधिकारीको सभापतित्वमा भएको उद्घाटन सत्रमा प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार मानसिक अस्पताल नै खोल्ने सोंचमा रहेको योजना सुनाउनुभएको थियो ।

मानसिक स्वास्थ्यमा बढ्दो चुनौती सामना गर्न यो बिषयमा सबै पक्ष जागरुक हुनुपर्ने औंल्याइएको छ । उपचार गरे निको हुने भएकाले यसलाई नलुकाई उपचार गर्नुपर्ने आवश्यकता रहेको छ । मानसिक स्वास्थ्यकाबारेमा अझ बढि सूसुचित गरेर यस सम्बन्धि जानकारी आधारभूत तहसम्म पुर्याइनु पर्नेमा जोड दिइएको छ । मनोयौन स्वास्थ्य सम्बन्धि कार्याशालामा प्रा.डा. टि.एस.एस. राव सहितको टोलीले पनि तिनको सहि पहिचान र उपचारका लागि जागरुक हुनुपर्ने तथ्यमाथि प्रकाश पार्नुभयो । मानसिक स्वास्थ्यमा बढ्दो चुनौतीका बारेमा अझ बढि रिसर्च गर्नुपर्ने र केहि बिषयमा नीतिगत तहमै परिवर्तन गर्नुपर्ने छ ।

सम्मेलनमा के के भयो ?

नेपाल मनोचिकित्सक संघको सातौं राष्ट्रिय सम्मेलनमा नेपाल, अष्ट्रेलिया, भारत लगायत देशका साइक्याट्रिष्टहरु तथा मनोस्वास्थ्य क्षेत्रमा कार्यरत् विशेषज्ञहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा मानसिक स्वास्थ्यका विभिन्न आयामहरुका ६० विषयवस्तुमा मूल मन्तव्य, सम्बन्धित विषयमा लेक्चर, कार्यशाला र गोष्ठि भयो । अष्ट्रेलियाका प्रा.डा. मोहन आइज्याकले आफ्नो कि नोट स्पिचमा परिवर्तनशील संसारमा वर्तमानका मानसिक स्वास्थ्यका हिसाबले देखिएका चुनौती र तिनलाई सामना गर्ने उपायहरु औंल्याउनुभयो । नयाँ दिल्लीका प्रा.डा. एस.के. खण्डेलवालले बिकासोन्मुख मुलुक, निमहान्स, बेंगलुरुका प्रा.डा. शेखर सेशाद्रीले बाल मनोस्वास्थ्य र बनारसकी प्रा. प्रा.डा. इन्दिरा शर्माले महिलाप्रति हुने यौन दुर्व्यवहारबाट मानसिक स्वास्थ्यमा रहेका चुनौती र सामनाका बाटाहरुबारे मन्तब्य राख्नुभयो ।

मनोस्वास्थ्यका विविध विषयमा डा. कपिलदेव उपाध्याय, संघका अध्यक्ष डा. अरुण कुँवर, उपाध्यक्ष डा. रवि शाक्य, सचिव डा. सन्दिप सुवेदी, शैलेन्द्रराज अधिकारी, डा. निर्मल लामिछाने, डा. गुन्जन धोँजु, डा. बासुदेव कार्की लगायत्का नेपाली विशेषज्ञको प्रस्तुति सम्मेलनको आयोजक समिति, साइन्टिफिक कार्यक्रम तथा पव्लिकेशनका कन्भेनर प्रा.डा. धनरत्न शाक्यले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालका दोश्रा साइक्याट्रिष्ट डा. देशराज बहादुर कुँवरलाई लाईफटाइम एचिभमेन्ट एवार्ड दिइएको थियो । सम्मेलनमा डा. अजय रिसालको प्रकाशित शोध र डा. पवन शर्माका प्रस्तुति पुरस्कृत भयो ।सम्मेलनले प्रा डा एसएन प्रधानको अध्यक्ष्यतामा नयाँ समिति चयन गरेको थियो । नवगठित समितिमा डा. निर्मल लामिछाने उपाध्यक्ष, डा. राजन शर्मा सचिव, डा. निना राई उपसचिव, डा. रचना शर्मा कोषाध्यक्ष, डा. सगुण पन्त सहकोषाध्यक्ष, प्रा.डा. शैलेन्द्रराज अधिकारी, निकेस मणिराजभण्डारी र डा. दिपक कुँवर सदस्य हुनुहुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित