अनाथ बालबालिकालाई जनही ३१ हजारको दरले सहयोग हस्तान्तरण

इनरुवा । हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रस्ट इनरुवा सुनसरीले २ सय बढी अनाथ बालबालिकालाई जनही ३१ हजार २ सयका दरले सहयोग रकम हस्तान्तरण गरेको छ । सुनसरी सदरमुकाम इनरुवा २ मा रहेको ट्रस्टले कतार च्यारेटी नेपालको सहयोगमा अनाथ बालबालिका सहित अपाङ्ग, गरिव र विपन्न परिवारलाई आर्थिक सहयोग बराबरको रकम उपलब्ध गराएको जनाएको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहता सहितको उपस्थितीमा कतार च्यारेटी नेपालका कार्यक्रम अधिकृत जियाउल रहमान खानसहितका अतिथिहरुले आर्थिक सहयोग वापतको रकम हस्तान्तरण गरेका थिए ।

ट्रस्टका अध्यक्ष मौलाना हारुन खान मजहरीको अध्यक्षतामा भएको कार्यक्रममा १ सय १८ अनाथ बालबालिकाका साथै १७ जना अपाङ्गता भएका व्यक्ति, २९ जना गरिव विद्यार्थी, परिचालक ३७ जना तथा २ विपन्न परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो । ट्रस्टले अनाथ बालबालिका सहित सामाजिक उत्तरदायित्व वहन हुने खालका विभिन्न आवश्यक्ता अनुरुपका शिर्षकमा विपन्न तथा गरिव परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

ट्रस्टले अनाथ बालबालिकालाई जनही ३१ हजार २ सय, अपाङ्गता भएका व्यक्तिहरुलाई जनही ३९ हजार ६ सय, गरिव विद्यार्थीहरुलाई जनही ३१ हजार २ सय, परिचालकहरुलाई ४८ हजारका दरले र विपन्न परिवारको हकमा ४५ हजारको दरले सहयोग वापतको आर्थिक रकम बितरण गरेको हो । यसैगरी अतिरिक्त कृयाकलापमा उत्कृष्ठ हुने छात्रछात्रालाई समेत कार्यक्रममा पुरस्कृत गरिएको थियो । प्राप्त आवेदन मध्ये प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराइएको बताउने कार्यक्रम संयोजक हजरत हुसेनले आर्थिक लगायत सहयोगको क्रमलाई निरन्तरता दिइने बताए । हुसेनले सहयोगको अपेक्षा राखेका र प्रकृयागत आएकाहरुलाई समेत क्रमश राहत कार्यक्रममा सहभागि गराइने बताए । आर्थिक सहयोगका लागि ट्रस्टमा सुनसरी सहित झापा, मोरङ, सप्तरी र सिरहा जिल्लाबाट आवेदन परेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित