पोष्टमार्टमले दिलायो सास्ती

सोलुखुम्बु / सोलुखुम्बुका सर्वसाधारणले पोष्टमार्टमको समस्या बर्षौ देखि झेल्दै आएका छन् । जिल्ला अस्पताल फाप्लुमा मात्र पोष्टमार्टमको सुविधा रहेकाले दुर्गम भेगका सर्वसाधारणले सास्ती भोग्नुपरेको हो । खुम्बु, महाकुलुङ र लिखुपिके क्षेत्रबाट पोष्टमार्टमका लागि लाखौ खर्च गरेर जिल्ला अस्पतालसम्म धाउनुपर्ने बाध्उता रहेको छ । लिखुपिकेसंग सदरमुकामको सडक पहूँच पनि नजोडिएकाले अधिकांश पोष्टमार्टम गर्नुपर्ने शवलाई उनीहरुले दोलखा या रामेछाप लैजाने गरेका छन् भने खुम्बुपासाङल्हमू गाउँपालिकाबाट पोष्टमार्टमका लागि लाखौ खर्चेर हेलिकप्टर चार्टर गरि सल्लेरी या काठमाण्डौ शव लैजानुपर्ने समस्या रहेको छ ।

उता, महाकुलुङ, सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको जुबु लोखिम क्षेत्रबाट पोष्टमार्टमका लागि हजारौ खर्चेर जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता रहेको छ । गरिबीको कारण आत्महत्या बढि हुने भएकाले पनि परिवारलाई आर्थिक भार थपिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । शंकास्पद र आत्महत्याबाट निधन भएको व्यक्तिको शवको पोष्टमार्टम अनिवार्य भएकाले पनि दुर्गमका परिवारले सास्ती खेप्नुपरेको हो ।

भौगोलिक जटिलताका कारण पनि पोष्टमार्टमले प्रहरीलाई पनि समस्या दिएको छ । शवसंगै जिल्ला ओहोरदोहोर गर्नुपर्ने भएकाले पनि कम जनशक्ति भएका प्रहरी ईकाइ मर्कामा पर्ने गरेको प्रहरीको भनाई छ । खुम्बुक्षेत्रमा खुन्दे अस्पताल संचालनमा रहेपनि पोष्टमार्टम गृहको अभाव देखिएको छ । स्थानीय तहले पोष्टमार्टमका लागि सार्थक पहल गरिरहेको पाईदैन् । प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा निर्माण सम्पन्न गरिएको पोष्टमार्टम गृह गुणस्तरहिन काम भएको भन्दै अस्पतालले जिम्मा दिन मानेको छैन् । उक्त भवन वेवारिसे बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा पनि पोष्टमार्टम गृह नहुदा सेवा संचालनमा छैन् ।

सोताङमा पोष्टमार्टम सेवा शुरु हुन सके महाकुलुङ क्षेत्रका सर्वसाधारण समेत लाभान्वित हुनेथिए । महाकुलुङ गाउँपालिकाले १५ शैयाको असपताल शुरु गरेपछि पोष्टमार्टम गृहको कामलाई पनि अघि बढाउने सोच बनाएको छ । प्रहरी निरिक्षक सहितको प्रहरी चौकी माग समेत गरिसकिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए । लिखुपिके गाउँपालिकाले आगामी आर्थिक बर्षमा पोष्टमार्टमका लागि बजेट विनियोजन गर्ने लक्ष्य राखेको छ । बजेटको व्यवस्था गरि एमबिबिएस डाक्टरको व्यवस्था गरि पोष्टमार्टम सेवा शुरु गर्ने गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित