अढाई महिना न्यूज च्यानल नहेर्नूस्

यदि तपाईँ आफ्नो नागरिकता बचाउन चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गरिदिनुहोस् । यदि तपाईँ लोकतन्त्रमा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् । यदि बालबालिकालाई साम्प्रदायिकताबाट बचाउन चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् । यदि तपाईँ भारतमा पत्रकारितालाई बचाउन चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् ।

न्यूज च्यानल हेर्नु भनेको आफ्नै पतन हेर्नु हो । म तपाईँहरुसँग अपिल गर्छु कि तपाईँ कुनै पनि न्यूज च्यानल नहेर्नूस् । टेलिभिजन सेटमा पनि र मोबाइलमा पनि न्यूज च्यानल हेर्न छोडिदिनुस् । आफ्नो दिनचर्याबाटै न्यूज च्यानल हेर्ने कुरालाई हटाइदिनुस् । निर्धक्क भन्छु, मलाई पनि नहेर्नूस् तर न्यूज च्यानल हेर्न बन्द गर्नूस् । जे कुरा तपाईँ यसबेला न्यूज च्यानलमा हेर्नुहुन्छ, त्यो सन्की संसार हो । उन्मादको संसार हो । यी च्यानलको स्वभाव वा प्रकृति नै यस्तै भइसकेको छ । यो पहिलोपटक भएको होइन ।

तनाव पैदा गर्दैछन् न्यूज च्यानल

जब पाकिस्तान र भारतबीच तनाव हुँदैन, न्यूज च्यानलहरु मन्दिरको विषय उचालेर तनाव पैदा गर्छन् । जब मन्दिरको तनाव हुँदैन न्यूज च्यानलले ‘पद्मावती’ चलचित्रको विषय उचालेर तनाव पैदा गर्छन् । जब कुनै चलचित्रका विषयमा तनाव वा विवाद हुँदैन, न्यूज च्यानल कुनै झुटो विषय बनाएर हिन्दू–मुसलमानबीच तनाव पैदा गर्छन् । जब केही विषय नै हुँदैन त नक्कली विषयमा भएको सर्भेमा घण्टौ कार्यक्रम गर्छन् । जसको कुनै मतलब नै हुँदैन ।

के तपाईँले केही मेसो पाइरहनुभएको छ, यो सब किन भइरहेको छ ? के तपाईँ नागरिकका रुपमा टेलिभिजन च्यानलमा नागरिकलाई देखिरहनु भएको छ । यी च्यानलले नागरिकलाई हटाइदिएका छन् । नागरिकका मुद्दालाई कुल्चिदिएका छन् । न्यूज च्यानलमा नागरिकका सवाल छैनन् । च्यानलकै सवाललाई नागरिकको सवाल बनाइँदै छ । यो त्यति जटिल विषय पनि होइन कि तपाईँहरुले बुझ्दै बुझ्नुहुन्न । मानिसहरु च्यानल बटार्दै जहाँ–जहाँ पुगे पनि आफूलाई कहीँ कतै पाउँदैनन् ।

युवाका विषय प्राथमिकतामा छैनन्

न्यूज च्यानलमा युवाका कैयौँ मुद्दाले ठाउँ नै पाउँदैनन् । तर, समाचार च्यानलहरु युवाहरुलाई आफ्नै प्रश्न जबरजस्ती थोपर्दैछन् । च्यानलले यी बनावटी प्रश्न कहाँबाट प्राप्त गर्छन्, त्यो तपाईँलाई थाहा हुन पर्छ । यिनीहरु जे गर्छन्, सबै तनाव पैदा गर्नका लागि गर्छन्, जसले एउटा नेताका लागि बाटो बनाउने काम गर्छ, उनको नाम हो– प्रधानमन्त्री नरेन्द्र मोदी हो ।

प्रोपोगाण्डा फैलाउँदै छन्

तपाईँ एक नेतालाई मन पराउनुहुन्छ । यो स्वभाविक पनि हो र धेरै हदसम्म आवश्यक पनि हो । तर, त्यही कुराको लाभ उठाएर न्यूज च्यानलले जे गर्दैछन्, त्यो निकै खतरनाक छ । बीजेपीकै जिम्मेवार समर्थकलाई पनि सही सूचनाको आवश्यकता पर्दछ ।

सरकार र मोदीको भक्तिमा प्रोपोगाण्डा पस्कनु ती समर्थकको अपमान पनि गर्नु हो । आज न्यूज च्यानल केवल सामान्य नागरिकको मात्रै अपमान गरिरहेका छैनन्, बीजेपी समर्थकको पनि अपमान गर्दैछन् ।

बीजेपी समर्थक पनि टाढै बसून्

म बीजेपी समर्थकलाई अपिल गर्छु कि तपाईँहरु पनि यी च्यानल नहेर्नूस् । तपाईँहरु भारतको लोकतन्त्र समाप्त पार्ने पक्रियामा नलाग्नूस् । के तपाईँहरु यी निरर्थक च्यानलबिना नरेन्द्र मोदीको समर्थन गर्न सक्नुहुन्न र ? के नरेन्द्र मोदीको समर्थन गर्न पत्रकारिताको पतनलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता छ र ? यदि त्यसो गर्नुहुन्छ भने तपाईँ एक इमान्दार राजनीतिक समर्थक हुनुहुन्न ।

न्यूज च्यानलले तपाईँको नागरिकतामाथि आक्रमण गर्दैछन् । लोकतन्त्रमा मानिस नागरिक हावामा बन्दैनन् । कुनै भौगोलिक प्रदेशमा जन्मँदैमा तपाईँ नागरिक बन्नुहुन्न । त्यसका लागि तपाईँले नागरिक हुनुको कर्तव्य पनि पालना गर्नुपर्छ । यो कुरा न्यूज च्यानलमा पाइँदैन ।

झुटो नाराबाट देशभक्ति

टीभी च्यानलले जुन भारत देखाउँदैछन्, त्यो हाम्रो भारत होइन । त्यो त नक्कली भारत हो । देशप्रेमको अर्थ हामी सबै आ–आफ्नो काम उच्च आदर्श र मानकको हिसाबबाट गर्छौ । अहिले त झुटो सूचना र विश्लेषणमार्फत देशभक्ति पस्किने काम भएको छ । तपाईँसँग भएको देशभक्तिको प्राकृतिक च्यानललाई न्यूज च्यानलले कृत्रिम च्यानल बनाइदिएका छन् । ताकि तपाईँ एक मुर्दा रोबोर्ट बन्नुहुनेछ ।

हिन्दी अखबार पनि नपढ्नूस्

अखबारको अवस्था पनि त्यस्तै नै छ । हिन्दी अखबारले पाठकको हत्याको सुपारी लिएका छन् । गलत तथा कमजोर सूचनाका आधारमा आम पाठकको हत्या भैरहेको छ । अखबारका पाना पनि राम्रोसँग हेर्नूस् । हिन्दी अखबारलाई उठाएर घरबाट फ्ँयाक्दिनूस् । एकदिन अलार्म लगाएर सुत्नूस् । उठेर हकरलाई भन्दिनूस्, ‘भाइ, चुनावपछि मात्रै अखबार लिएर आउनू ।’

विपक्ष बन्ने सम्भावना समाप्त

यो सरकार तपाईँ सही सूचना प्राप्त गरी सक्षम नागरिक बन्नुहोस् भन्ने चाहँदैन । च्यानलहरुले त विपक्ष बन्ने सम्भावना समाप्त गरेको छ । यदि तपाईँ सरकारको आलोचक बन्न सक्नुहुन्न भने तपाईँ समर्थक पनि बन्न सक्नुहुन्न । होस्मा सपोर्ट गर्नु र इञ्जेक्सन दिएर सपोर्ट गराउनु अलग–अलग कुरा हुन् ।

पहिलोमा तपाईँको आफ्नो स्वाभिमान झल्किन्छ । दोस्रोमा तपाईँको अपमान । के तपाईँ आफू अपमानित भइ न्यूज च्यानल हेर्न चाहनुहुन्छ ? यसकै माध्यमबाट सरकारलाई समर्थन गर्न चाहनुहुन्छ ? च्यानल गलत सूचना र सीमित सूचनामा आधारित रहेका छन् । प्रश्न र सूचनाबिना लोकतन्त्र सम्भव छैन ।

सत्य र तथ्यको सम्भावना समाप्त

सत्य र तथ्यका हरेक सम्भावना समाप्त पारिएको छ । म हरेक दिन पब्लिकलाई धकेलिरहेको देख्छु । न्यूज च्यानल पब्लिकलाई मध्यरेखामा लगेर राख्न चाहन्छ । जहाँ राजनीति आफ्नो बबण्डर मच्चाइरहेको हुन्छ । राजनीतिक दलबाट बाहिर रहेका कुनै मुद्दा बाँकी नै छैन भन्दा पनि हुन्छ । अझै उनीहरु कति मुद्दाको पर्खाइमा रहेका छन् ।

च्यानलहरु आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आम मानिसका विरुद्धमा प्रयोग गर्दैछन् । तपाईँहरुको हारको अर्थ यिनीहरुको जित । तपाईँको गुलामी नै यिनीहरुको जित हो । यिनीहरुको पञ्जाबाट कोही पनि सजिलै निस्कन सक्दैन । तपाईँ एकदर्शक हुनुहुन्छ । तपाईँ एक नेतालाई समर्थन गर्नका लागि पत्रकारिताको पतनको समर्थन नगर्नूस् । केवल साढे दुई महिनाको कुरा हो । न्यूज च्यानल हेर्न बन्द गरिदिनूस् । – ब्लगबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित