अनौठो सोख: झापाका यी व्यक्ति किन अन्यत्रबाट सर्प समातेर घर ल्याउँछन्


झापाको अर्जुनधारा नगरपालिकाका ६६ वर्षे श्यामकुमार प्रधानको घरमा हालैको एक साँझ पुग्दा त्यहाँ खोरमा राखिएका दुईवटा सर्प थिए; एउटा विषालु गोमन र अर्को करिब सात फिट लामो धामन । ती दुईवटै सर्प उनले हालै विर्तामोडको जात्रुबाडी र अर्जुनधाराका फरक-फरक घरबाट समातेर ल्याएका थिए । प्रधान व्यावसायिक सपेरो नभए पनि सजिलैसँग सर्प समाउँछन्। र, तिनलाई कतै जंगलमा लगेर छोड्ने गरेका छन् ।

किन यस्तो सोख?

उनले यस भेगमा पाइने गोमन, करेत, राजासाप लगायत विषालु सर्प समाएर नजिकैको दहिझोडा सामुदायिक वनमा छोड्न थालेको दुई दशक अघिदेखि हो । यसबीचमा उनले झण्डै एकसय २५ वटा सर्प जंगलमा छोडेको सुनाउँछन् ।

गाउँघरमा कतै सर्प देखिए उनको मोबाइलमा घण्टी बज्न थाल्छ र उनी सक्दो चाँडो त्यसतर्फ जान्छन् ।

“फोन आउने बित्तिकै म जति नै व्यस्त भएपनि गएर सर्प समाउने गरेको छु।”

उनले त्यसो गर्नुको अर्थ सर्प नमारियोस् भन्ने हो। प्रधानले त्यस्तै अवसरहरूमा सर्प नमार्न आग्रह गर्ने गरेका छन् । उनी भन्छन्, “सर्प हेर्दा डरलाग्दो र विषालु हुने भए पनि वातावरणमा यसको महत्त्वपूर्ण योगदान छ। सर्प मार्नु हुँदैन ।”
बालीनालीमा पाइने हानीकारक किराहरु विषालु सर्पले खाएर वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्‍याउने बताउँदै उनी घरदेखि १५ किलोमिटर टाढासम्म गएर सर्प समाएको अनुभव सुनाउँछन् ।

उनले भने, “यहाँदेखि सुरुङ्गासम्म गएर सर्प समाएर ल्याएको छु ।”

घरमा किन?

सर्प राख्न उनले घरमै दुइवटा खोर बनाएका छन् । घरमा राखेका गोमनलाई भ्यागुता र राजासापलाई हरहरे सर्प खानका लागि दिने गरेको उनले सुनाए ।

सर्प समाउनु र जंगलमा लगेर छोड्नु आफ्नो सोख भएको बताउँदै उनले भने, “मान्छेले लाखौँ रुपैयाँमा कुकुर, खरायो किनेर पालेजस्तै हो मेरो यो सोख पनि। मैले सर्प समाएर उद्धार गरेको छु, यो धर्म पनि त हो ।”
उनले थपे “म नागपञ्चमीको दिन जन्मेको, मलाई देख्ने बित्तिकै सर्प आफैँ लाटो हुन्छ, मसँग डराउँछ सर्प अनि लौरोले थिचेर घाँटीमा समाउँछु।”

सर्पसँग यति धेरै खेल्दा समेत उनलाई अहिलेसम्म सर्पले टोकेको छैन।

अहिलेसम्म आफूले देखेजति सर्प मार्न नदिएर झोलामा हालेर घर ल्याएको उनी बताउँछन्।

परिवारलाई टेरेनन्

उनका घर परिवारका सदस्यले पटक-पटक सर्प समाउने काम नगर्न आग्रह गरे। तर प्रधानले भने सर्प समाउने कामलाई झन् तीव्रता दिए।

उनकी श्रीमती मीराले त कतिपटक फोन आउँदा पनि उनलाई सुनाइनन्। तर त्यसले उनलाई रोक्न सकेन । मीरा सुनाउँछिन्, “मोबाइल नम्बर पत्ता लगाएर मान्छेले फोन गर्छन् अनि कुदिहाल्नु हुन्छ।”

श्रीमानको सुरक्षा र सर्पसँग डर लाग्ने हुँदा तिनलाई पक्रेर घरमा नल्याउन आग्रह गर्दा समेत प्रधानले सुनेको नसुन्यै गरे । तर केही वर्षअघि घुमफिरमा अमेरिका जाँदा उनले सर्प समाउने लौरो किनेर ल्याए। त्यसपछि आफ्नै लागि र परिवारलाई ढुक्क बनाउन धेरै सहज भएको उनी सुनाउँछन् ।

नत्र त्यसअघि उनले बाँसको लौरो र हातले सर्प समाउने गर्थे । अहिले जंगल मासिँदै गएका कारण समाएका सर्प छोड्न गाह्रो हुन थालेको उनको अनुभव छ । विद्यार्थी हुँदा डिस्कभरी, एनिमल प्लानेटजस्ता च्यानलमा सर्प समातेको देखपछि आफूलाई त्यस्तै काम गर्न मन लागेको उनको भनाइ छ ।
बीबीसी नेपाली

प्रतिक्रिया

सम्बन्धित