कोरियालीले बाँडे मच्छर नियन्त्रण गर्ने उपकरण

माेरङ / दुई जना कोरियाली नागरिकले मोरङमा लामखुट्टे मार्ने उपकरण आइतबार वितरण गरेका छन् । विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर दक्षिण कोरियाका व्यापारीहरुले ३० थान मच्छर नियन्त्रण गर्ने उपकरण हस्तान्तरण गरेका हुन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदी दक्षिण कोरियाको भ्रमणमा गएका बेला उनीहरुले मोरङमा मानविय सेवा गर्ने इच्छा देखाएका थिए । त्यही योजना अनुरुप विपन्न र आदिवासी जनजातिको बाहुल्य भएको ग्रामीण क्षेत्रमा उपकरण उपलब्ध गराइएको जनाइएको छ ।

कोसी अञ्चल अस्पताल र मनमोहन पोलिटेक्निकलाई पनि उपकरण उपलब्ध गराइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहका वडा अध्यक्षलाई सो उपकरण प्रदान गर्नु भयो । सन् २०१७ देखि दक्षिण कोरियाबाट उपकरण, प्रविधि र सप्टवेयरको व्यापार गर्न नेपाल आएका छौ योङ छल र लि साङ्ग हुनले मच्छर नियन्त्रण गर्ने उपकरण उपलब्ध गराएका हुन् ।

कार्यक्रममा उनीहरुलाई नेपाली टाका टोपी लगाएर स्वागत गरिएको थियो । मुख्यमन्त्री राईले सुखी नेपाली ,समृद्ध नेपालको नारामा अन्य देशका नागरिक पनि सहयोग गर्न तयार रहेको पुष्टि भएको बताए । विकास र समृद्धि सबैको साझा एजेन्डा रहेका बेला दक्षिण कोरियाली नागरिकले गरेको सहयोगको प्रसंशा गर्दै उनले अब विश्व जगत नै समृद्धिको यात्रामा सहयोग गर्न अग्रसर भइसकेको बताए । विश्व जगतको चासो नै नेपालको समृद्धिमा बढ्दै गएकाले सबैसँग सहकार्य गरेर अघि बढ्न संघीय र प्रदेश सरकार तयार रहेको उनले बताए । उनले मच्छरको प्रकोप बढेसँगै विभिन्न प्रकारका रोग लाग्ने खतरा रहने भएकाले प्रदेश सरकार मच्छर नियन्त्रण गर्ने अभियानमा लाग्ने सुनाए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले मच्छर नियन्त्रण गर्ने उपकरणले रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले मच्छर नियन्त्रण गर्ने मेसिनको प्रयोग गर्दा सचेत रहनु पर्ने बताए । प्रतिनिधसभा सदस्य मोदीले सधैं जनताको सेवा गर्ने आफ्नो मुख्य लक्ष्य रहेकाले दक्षिण कोरियाका नागरिकको सहकार्यमा मच्छर नियन्त्रण गर्ने उपकरण भित्राइएको बताए । ग्रामीण भेगमा आदिवासी र विपन्न वस्तीमा मच्छरको टोकाईले धेरै रोगको प्रकोप बढ्ने खतरा भएकाले मच्छर नियन्त्रण गर्ने उपकरण वितरण गरिएको उनको भनाइ छ । त्यस अवसरमा मधेशका आदिवासी जनजाति समुदायका झाँकीहरु प्रस्तुत गरिएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित