भ्रमपूर्ण सुचना नदिएको एक्सपर्टद्वारा स्पष्ट, विद्यार्थी व्यवस्थापनको लागि पहल सुरु (प्रेस बिज्ञप्ती सहित)
सिड्नी । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अलपत्र परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । अष्ट्रेलियन स्किल क्वालीटी अथोरीटिको हालैको निर्णयबाट उक्त कलेजको दर्ता खारेज भएको थियो । खारेजीपछि नेपाली विद्यार्थीलाई परेको समस्या समाधान गर्न जिम्मेवारीपूर्वक लागेको उक्त संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । उसले आफू जिम्मेवारीबाट नभागेको समेत स्पष्ट पारेको छ ।
खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत एक्सपर्टले स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन गरेको डिप्लोमा अफ नर्सिङ र एड्भान्स डिप्लोमा अफ नर्सिङ प्रोग्राममा नेपालस्थित कार्यालयहरुबाट ८ जना र अन्य विषयहरुमासमेत गरी जम्मा १५ जना विद्यार्थी भर्ना भएको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थी सबै आफ्नो सम्पर्कमा रहेको र सुरक्षित व्यवस्थापनको लागि काम भइरहेको समेत एक्सपर्टले जनाएको छ ।
एक्सपर्टले नेपाल र अष्ट्रेलियामा सामाजिक उत्तरदायित्वसँगै आफ्ना सबै भीसा र विद्यार्थीसम्बन्धि कामहरु नरोकिएको समेत जनाएको छ । यस्तै कुनैपनि विद्यार्थीलाई भ्रमपूर्ण सुचना नफैलाएको समेत जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘हामीले भर्ना गरेका सबै विद्यार्थीलाई सो कलेज र उसले सञ्चालन गरेका नर्सिङ प्रोग्रामबारे हामीले सही र सत्य तथ्य जानकारी गराइएको तथा कुनैपनि भ्रमपूर्ण सुचना प्रवाह नगरेको जानकारी गराउँछौं । यसबारे नेपाल तथा अष्ट्रेलियामा सरकारी निकायहरुले छानविन गर्न चाहे पुरापुर सहयोग गर्नेछौं ।’
यस्तै कलेज खारेजी भइ अलपत्र परेको गुनासो गर्दै सञ्चारमाध्यममा आएका विद्यार्थीहरुलाई धम्की गएको कुरा बाहिरीएको विषयमा समेत एक्सपर्टले उल्लेख गरेको छ । विद्यार्थीको विषयमा उनीहरुसँग र उनीहरुका परिवारसँग गरेको कुराकानीलाई धम्की भन्दै प्रचार गरिएको समेत उल्लेख छ । आफ्ना कुनै पनि शाखा तथा कर्मचारीले कुनै विद्यार्थीलाई धम्की नदिएको जनाउँदै आवश्यक परे अडियो संवादसमेत सुनेर छानविन गर्न आग्रह गरेको छ ।
‘समस्यामा परेका सबै नेपाली विद्यार्थीहरुलाई सक्दो मद्धत गर्न हामी हरप्रसासमा जुटिरहँदा उनै विद्यार्थी र चिन्तित अविभावकहरुलाई डरत्रास देखाउने कुरा हामी कल्पनासम्म पनि गर्न सक्दैनौं,’ विज्ञप्तीमा भनिएको छ । उसले आफूहरुसँग सम्पर्कमै रहनसमेत विद्यार्थीहरुसँग आग्रह गरेको छ । कलेज खारेज भएसँगै अष्ट्रेलियामा एक हजार बढी विद्यार्थीहरु अलपत्र परेका छन् । सोमध्ये १५ जना मात्र आफ्ना विद्यार्थी रहेको एक्सपर्टले जनाएको छ । त्यसमाथि विवादमा तानिएको नर्सिङसम्बन्धि कोर्षमा ८ जना मात्र रहेको स्पष्ट पारेको छ । कलेज खारेज भएपछि अलपत्र परेका सबै विद्यार्थीहरुको व्यवस्थापनको लागि अष्ट्रेलिया तथा नेपाल सरकार र विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने कन्सल्टेन्सीहरु लागिपरेका छन् । खारेजीको विरुद्धमा खारेजीमा परेको कलेजले अपिलसमेत गरिसकेको छ । कुनै पनि देशमा कलेज खारेज भएर यति धेरै संख्यामा नेपाली विद्यार्थी प्रभावित बनेको यो पहिलो घटना हो ।
प्रेस बिज्ञप्ती
प्रतिक्रिया