सोलुखुम्बुका ३२ वडा बर्थिङ सेन्टर विहिन

सोलुखुम्बु / सोलुखुम्बुका ३२ वडा वर्थिङ सेन्टर विहिन रहेका छन् । जिल्लाका ५२ वडामध्ये ३२ वडामा वर्थिङ सेन्टर संचालनमा आउन सकेको छैन् । सडकको पहुच नपुग्नु, स्थानीय तहबाट बजेटको व्यवस्था नहुनु, आवश्यक संरचना र दक्ष जनशक्ति अभाव लगायतका कारणले वर्थिङ सेवा संचालनमा समस्या भएको बताईएको छ । ११ वडा रहेको सोलुदुधकुण्ड नगरपालिकामा ५ वडामा वर्थिङ सेन्टर संचालनमा रहेको छ । गोराखानी, केरुङ, तामाखानी, बेनी र गार्मामा बर्थिङ सेन्टर संचालनमा छन् । वडा नं ४, ५ र ६ सदरमुकाम भएकाले वर्थिङ सेवा आवश्यक ठानिएको छैन् । जिल्ला अस्पताल सदरमुकाममै रहेकाले पनि वर्थिङ सेवा आवश्यक नभएको र अन्य वडामा पनि सडकको पहूँच स्थापित भईसकेकाले जिल्ला अस्पताल आउन सहज रहेको नगर स्वास्थ्य संयोजक चमर मगरले बताउनुभयो ।

नेचासल्यान गाँउपालिकामा ३ स्थानमा वर्थिङ सेवा स्थापना गरेपनि अहिले प्राथमिक स्वास्थ्य केन्द्र सल्यान र नेचाबतासे स्वास्थ्य चौकीमा वर्थिङ सेवा संचालनमा रहेको संबाददाता धन कुमार ढुंगेलले जानकारी दिनुभयो । नेचाबेतघारी स्वास्थ्य चौकीमा भने जनशक्ति अभावमा सेवा प्रभावित बनेको छ । खुम्बु पासाङल्हमु गाँउपालिकाका पनि १, ३ र ४ नं वडा बर्थिङ सेन्टर विहिन रहेका छन् । स्वास्थ्य संयोजक महेश बहादुर बोहराका अनुसार वडा २ र ५ मा रहेको बर्थिङ सेन्टरबाट स्थानीय महिलाहरु लाभान्वित बन्दै आएका छन् । थुलुङ दुधकोसी गाँउपालिकाका ४ वटा वडामा बर्थिङ सेन्टर रहेका छन् भने ५ वडा बर्थिङ सेन्टर विहिन रहेका छन् । गाउँपालिकाको नेले, लोखिम, जुबु, पन्चनमा वर्थिङ सेवा संचालनमा छ । माप्यदुधकोसी गाँउपालिकाका अधिकांस वडा पनि बर्थिङ सेन्टर विहिन नै रहेको पाईएको छ । १ र ३ नम्बर वडामा बर्थिङ सेन्टरको व्यवस्थापन गरिएको छ भने अन्य बाकी वडा भने वर्थिङ सेन्टर विहिनै रहेका छन् ।

सोताङ गाउँपालिका अन्तरगत प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा रहेको छ । जहाँ वर्थिङ सेवा उपलब्ध छ । वडा नं १ र ५ मा वर्थिङ सेवा संचालनमा रहेको स्वास्थ्य संयोजक श्रीध्वज राईले बताउनुभयो । लिखुपिके गाँउपालिकाका ४ नं वडा बाहेकका वडामा वर्थिङ सेवा छैन् । गाउँपालिकामा ५ वडा कायम रहेका छन् । उता, महाकुलुङ गाँउपालिकाको बुङ, छेस्काम र गुदेलमा वर्थिङ सेवा संचालनमा रहेका छन् । वडा नं २ र ४ मा वर्थिङ सेवा नरहेको स्वास्थ्य संयोजक हरि प्रसाद आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामै पुगेर वर्थिङ सेवा लिनका लागि प्रोत्साहित गर्न थुलुङ दुधकोशी र महाकुलुङ गाउँपालिकाले केन्द्रित सरकारले उपलब्ध गराएको भक्तामा थप गरि प्रदान गर्दै आएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित