टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

इटहरी / विहानको चिसो मौसममा इटहरीको टेङ्ग्रा खोला नजिकै एक, दुई गर्दै ३०÷३५ जना स–साना बालबालिका भेला हुन्छन् । नजिकै एउटा पिपलको रुख छ त्यहिनेर ति बालबालिका म्याट ओछ्याउँछन् र आफ्नो किताब, कापी पल्टाएर शैक्षिक स्तरोन्नतिका लागी पढ्न तम्तयार हुन्छन् । उनीहरुलाई चिसो मौसम होस्, गर्मी मौसम या कुनै झरी नै । इटहरीमा रहेका गरिब, बिपन्न बालबालिकाको दिनचर्या हो यो ।

यहाँका बालबालिकाको शैक्षिक विकासका लागी २०५१ माघ २८ गतेबाट इटहरीमा निःशुल्क रुपमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएका धनकुटा कागतेमा जन्मेका चन्द्र भण्डारीले निकै ठूलो योगदान गरेको कथा कुनै नौलो रुपमा छैन । उनले कपुरीसँग कुरा गर्दै भने, ‘यहाँ नगरपालिकाले कुनै पनि शिक्षा क्षेत्रका लागी काम गरेको छैन ।’ बिपन्न बर्गका बालबालिकाका लागि आँफूले लामो समयदेखि पढाउँदै आउँदा समेत नगरपालिकाले एउटा चौतारो नबनाइदिएको प्रति आँफू दुःखी भएको उनी सुनाउँछन् । आँफूले विगतमा इटहरीमै रहेर बाँस बेच्दै आएको र पहिले–पहिले बिपन्न बर्गका अभिभावकले आँफूलाई छोराछोरी पढाइदिन आग्रह गरेपछि आँफूले पढाउने गरेको बताउँदै उनले भने ‘मलाई सुरुवातमा दश जना बिद्यार्थीका आमाबाले पढाइदिनु हामी धेरै नभएपनि तपार्इँलाई चिया खाजा खुवाउँछौँ भन्नुभयो, मेरो मन अमिलो भएर आयो, त्यसैले मैले परिवारको आर्थिक अवस्था हेरेर निःशुल्क रुपमा बिद्यार्थीलाई पढाउँन सुरु गरेको हुँ ।’ उनी भन्छन्, ‘अहिले त यी बालबालिका भएनन् भने पनि के भएन, भएन जस्तो हुन्छ, अहिले ३५ जना बिद्यार्थी पढाउँदै आएको छु ।’

आँफूले पढाएका कतिपय बिद्यार्थीहरु अमेरिकामा समेत रहँदै आएको बताउँदै भण्डारीले भने, ‘मकै, बदम बेच्ने र लेभरको काम गरेर दैनिकी गुजारा चलाउन अभावमा रहेका मानिसका छोराछोरीलाई पढाउँदै आएको छु, नगरपालिकासँग यहि ठाउँमा पटक–पटक चौतारो बनाउनका लागी सहकार्य गर्न खोज्दा पनि नगरपालिकाले नबनाएकोप्रति दुःख लाग्छ ।’ यहाँ आँफूले निशुल्क पढाउँदै आएपनि नगरपालिकाले एउटा चौतारो बनाइदिनुपर्ने उनको माग छ । उनी आँखाभरी आँशु पार्दै भन्छन्,‘ कतिपय साथीहरु आउनुहुन्छ र एक बर्षका लागी कोठाको प्रबन्ध मिलाइदिन्छु भन्नुहुन्छ तर एक बर्ष पछि पनि आउने ठाउँ त यहि खोलाको किनारमा हो, त्यसैले पनि नगरपालिकाले एउटा चौतारो बनाइदिनु आबश्यक छ ।’

केही समयअघि मात्रै बालबालिकाको लागी बिभिन्न संस्थाले म्याट सहयोग गरेको र यसअघि बालबालिकाले अाँफू बसेर अध्ययन गर्नका लागी घरबाटै जुटको बोरा बोकेर आउने बताउँदै भण्डारीलाई शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा बिभिन्न संघ संस्थाले सम्मान समेत गरेको बताए । उनी भन्छन्, ‘२५÷२६ बर्ष अगाडिको कुरा एकैपटक एकै शब्दमा कसरी भनौँ ? आफ्नो कहाँनी बताउन लामो समय चाहिन्छ ।’ आँफूले कमजोर रहेका बिद्यार्थीको घरमै गएर पनि अध्यापन गराउँदै आएको र आगामी दिनमा बालबालिकाको भविष्य कोर्नका लागि यिनीहरुलाई समेटेर लैजानुपर्ने उनको तर्क थियो ।

कतिपय बालबालिकाको आमाबाबु नै नभएको कारण आँफूलाई पढाइदिन आग्रह गर्दा स्तब्ध हुने बताउँदै भण्डारीले भने, ‘अन्य सरकारी शिक्षकहरुलाई गर्मी, जाडो बिदा हुन्छ तर म हप्ताको एकदिन मात्रै बिद्यार्थीलाई बिदा दिन्छु, शुक्रबार भने चित्र लेखनका लागी बिशेष कक्षा दिने गरेको छु ।’ यहाँ पढ्ने धेरैजसो बालबालिका सरकारी र केही निजी स्कुलमा पढ्ने गरेको उनले जानकारी गराए । बिभिन्न संघसंस्थाले बालबालिकालाई कापी, कलम समेत उपलब्ध गराउँदै आएको उनी सुनाउँछन् ।

आँफूले यि बालबालिका पढ्न आउँदा हाजिर गर्ने गरेको बताउँदै आँफूले बाल्यकालमा हलो कोदालो समाएर बिद्यालय गएको र अहिले तिनै हलो चलाएको हातले कलम चलाउन सिकाइरहेको शिक्षासेवी भण्डारी बताउँछन् । देशमा बिभिन्न संक्रमण काल आउदा अध्यापन गराउन असहज भएन भन्ने प्रश्नमा भण्डारीले आँफूलाई कुनै काल नआउने भन्दै मार्मिक जवाफ दिन्छन् । ‘नगरपालिकाले यि बालबालिकालाई कि ब्यवस्थापन गर्नुपर्छ, कि चोर बनाउँनुपर्छ’ उनले भने, अहिलेका बालबालिका बिग्रनु भनेको देश बिग्रनु हो, यहाँ आउने हरेक बालबालिका सप्रिएर जान्छन् ।’ आर्थिक अभावमा पनि टेङ्ग्रा किनारमा भविष्य कोर्ने बालबालिकाको दैनिकी हो यो । यिनीहरुको व्यवस्थापनका निम्ति इटहरी उपमहानगरपालिकाले गम्भीर भएर सोच्नु आवश्यक देखिन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित