अस्पताल नै गर्छ स्वास्थ्य केन्द्रमा रेफर

संखुवासभा / चिचिला गाउँपालिकाकी सन्चमाया गुरुङ (नाम परिर्वतन) सुरक्षित गर्भपतनका लागि संखुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् । तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरिदियो ।

‘गाउँको स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल पठाएको थियो । तर जिल्ला अस्पतालले पनि चैनपुर वा मकालु गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पो जानू भनिदियो’, सन्चमायाका श्रीमानले भने । तर उनीहरूका लागि मकालु गाउँपालिका र चैनपुर नगरपालिका पनि त्यति नै टाढा छन् । ‘गाउँबाट जिल्ला अस्पतालमा राम्रो सुविधा छ भन्दै स्वास्थ्य चौकीले पठाइदियो,’ उनले भने, ‘तर त्यहाँबाट अझै दुई दिन समय खर्चिएर चैनपुर जानुपर्ने बाध्यता आइप¥या ।’ खाँदबारीसम्मलाई पुग्ने मात्रै खर्च लिएर आएका उनीहरू कसरी चैनपुर पुग्ने भनेर छटपटाइरहेका थिए । उनीहरू भन्दै थिए, ‘अब घर पुगेर आउँदा खर्च तेब्बर हुने भयो ।’

अनुभवी एवं विशेषज्ञ चिकित्सक रहेको आशमा आएपनि जिल्लाकै ठूलो अस्पतालले सानो र कम अनुवभी स्वास्थ्यकर्मी हुने स्वास्थ्य संस्थामा रेफर गरिदिएपछि थप तनाव भएको सन्चमायाले बताइन् । अस्पतालले केही समयदेखि गर्भपतनको सेवा नभएको जानकारी दिएको छ । जिल्ला अस्पताल जस्तो ठूलो स्वास्थ्य संस्थामा यति सानो स्वास्थ्य सुविधा पनि छैन भन्ने कुरा आफूलाई नलागेको सन्चमायाको भनाई छ । १२ हप्ताको गर्भपन गराउन ठूलो अस्पतालको सेवा छाडेर उनी प्राथमिक केन्द्रमा पुग्नुपर्दा तनावमा छिन् ।

जिल्ला अस्पतालले साना स्वास्थ्य संस्थामा रेफर गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर दक्ष चिकित्सक नभएको भन्दै अस्पतालले दुई महिनायता गर्भपतनका लागि प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्वास्थ्य संस्थामा रेफर गरिरहेको छ । उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुग्ने बिरामीले पनि प्रभावकारी उपचार पाउन सकेका छैनन् । जिल्ला अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सक नभएका कारण १० हप्ताभन्दा माथिकालाई सुरक्षित गर्भपतनका लागि रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. लक्ष्मण खड्काले बताए । जिल्ला अस्पतालमा सुरक्षित गर्भपतनको सेवा दिँदै आएका डा. युवराज बस्नेतको सुरुवा भएपछि दुई महिनादेखि यस्तो अवस्था आएको खड्काको भनाई छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित