आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव शुरु

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव आजदेखि शुरु भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालयको सहकार्यमा दुई दिने उक्त उत्सव शुरु गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ढाकिएको हुचिलको स्तम्भको पर्दा खोलेर उत्सव उद्घाटन गर्नुभएको थियो ।

‘किसानको साथी’का रुपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्नमा भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उत्सवको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष बिकास राईले बताउनुभयो । उत्सवको पहिलो दिन चरा अवलोकनका साथै प्रकृतिको तस्वीर खिच्ने, लाटोकोसेरो सम्बन्धी लघु संग्रहालय प्रदर्शनी, प्रकृति तथा वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न अनुसन्धानकर्ताको प्रस्तुती, लोपोन्मुख बाजा बिनायो, मुर्चुङ्गा, पीपीरी, बाँसुरी, एलम्बर बाजा, मादल सहितको संयुक्त वाद्यबादन, हाक्पारे गीत, लाखे नाच, रोपाई जात्रा, साकेला सिली लगायत लोक साँस्कृति नाच प्रदर्शनी गरिएको छ ।

‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं’ भन्ने नारासहित शुरु सो उत्सवको दोस्रो दिन वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीबाट लाटोकोसेरो संरक्षण सम्बन्धी नाच, मारुनी, हिन्दु महिलाको संगिनी नाच, तामाङको डम्फु र सेलो, बालनका साथमा सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उत्सवमा स्थानीय कृषि उपज तथा अन्य सामग्री समेत प्रदर्शनीमा राखिएको छ ।

यसैबीच सो अवसरमा बिगत दुई दशकदेखि पंक्षी अनुसन्धान र संरक्षणमा योगदान पु¥याएकामा कास्की माछापुच्छ्रे गाउँपालिका धितालका रामजी गौतम र एक दशकदेखि सञ्चार माध्यमबाट वन्यजन्तु तथा प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान गरेकामा बर्दिया गुलरिया नगरपालिका बंगलामुखी मन्दिर टोलका यादव आचार्यलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै चरा संरक्षणका लागि विगत चार दशकदेखि वैज्ञानिक अनुसन्धान र सहभागीतामुलक संरक्षणका माध्यमबाट योगदान पु¥याएकामा नेपाल पंछी संरक्षण सङ्घ लाजिम्पाट काठमाडौंलाई पुरस्कृत गरिएको छ । दुई संरक्षणकर्मी र सो संस्थालाई रु. २५ हजारका दरले पुरस्कार प्रदान गरिएको हो । उत्सवकै अवसर पारेर वडाले हुचिललाई वडा पंक्षी घोषणा गरेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित