खाँदबारीमा आँखा शिविर, ८ हजारको आँखा जाँच


संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कानको जाँच शिविरमा ८ हजार बढीले सेवा लिएका छन् ।

खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको शिविरमा ८ हजार ५ सय २७ जनाले सेवा लिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले बताए । गत माघ २ गतेबाट शुरु भएको शिविर सोमबार सम्पन्न भएको हो ।

शिविरमा नगरक्षेत्र भित्रका ३८ वटा विद्यालयका ७ हजार १५ जनाले आँखा तथा कानको जाँच गराएका छन् । त्यस्तै, १ हजार ५ सय १२ जना स्थानीयले आँखा तथा कानको जाँच गराएका थिए ।

स्थानीयमध्ये ९५ जनामा मोतियाबिन्दु भेटिएको र ३ सय विद्यार्थीको पुनः आँखाको जाँच गर्नुपर्ने भएकाले खाँदबारी रिफर गरिएको बरालले बताए । बरालका अनुसार विद्यार्थीहरूमा ४० जनामा कानको जालीमा प्वाल परेको भेटिएको छ । स्थानीय ६० जनाको कानको जालीमा प्वाल परेको भेटिएको छ ।

शल्यक्रिया गर्नुपर्ने किसिमको मोतियाबिन्दुका रोगीहरूको शल्यक्रिया माघ २५ र २६ गते गरिने भएको बरालले बताए । शिविरमा ६ सय जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित