डेढ महिनापछि बल्ल खुल्यो महेन्द्र मोरङ क्याम्पसको ताला

माेरङ / विगत ३९ दिनदेखि कार्यकक्ष भित्र बसेर काम गर्न नपाएका महेन्द्र मोरङ आदर्श क्याम्पसका प्रमुखले बुधबारबाट राहत महसुस गरेका छन् । विराटनगरस्थित क्याम्पसमा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाविरुद्ध गएको पौष १ गतेबाट विभिन्न विद्यार्थी संगठनले विभिन्न माग राख्दै प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गर्दै आएका थिए । बुधबार दिउँसो क्याम्पस प्रमुख तिम्सिना तथा विद्यार्थी संगठनहरुबीच छात्रवृत्ति सम्बन्धी समस्या हलका लागि समिति बनाएर काम गर्ने सहमति बनेको छ। त्यसैगरि क्याम्पसको श्र्वेत पत्र एकमहिनाभित्र सार्वजनिक गर्ने, पुस्तकालय तथा खानेपानी समस्या हल गर्ने लगायतका सहमति बनेको बताइएको छ ।

माग सम्बोधनसंगै तालाबन्दी खुलेको बताएका क्याम्पस प्रमुख तिम्सिनाले भने, ‘विद्यार्थीसंग सहमति बनेको छ । अव क्याम्पसको कार्यले तिव्रता लिनेछ ।’ तालाबन्दी हुँदा हिजोको दिन काम गर्न असहज भएको बताएका प्रमुख तिम्सिनाले विद्यार्थीहरुसंग सहमति बनेसंगै काम गर्ने सहज वातावरण बन्ने अपेक्षा गरेको बताए । त्यसैगरी, गएको बैशाखबाट क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका तिम्सिनाले हालसम्मको आर्थिक पारदर्शीता सार्वजनिक गर्ने सहमति बनेको विद्यार्थी संगठनहरुले जनाएका छन् । एकमहिना बढि लामोसमयको तालाबन्दीका कारण प्रशासनिक कार्य असहज बन्दै गएको थियो ।

यसबीच क्याम्पसमा कार्यरत २ सय ५० कर्मचारीको तलबसमेत रोक्का रहदै आएको थियो । क्याम्पस प्रशासनले तलबका लागि मासिक रुपमा ८८ लाख खर्च गर्दै आएको छ । क्याम्पस प्रमुखको कार्यशैलीप्रति रुष्ट नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी रहदै आएका थिए । त्यसैगरि संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन पनि तालाबन्दीमा रहेका थिए । यसअघि पौषमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई क्याम्पसमा सम्मान गर्ने क्रममा भने, आपसी सहमातिमा दुईदिन तालाबन्दी खुला गरिएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित