मेचीमा अब निःशुल्क स्वास्थ्य जाँच

बिर्तामोड / यातायात व्यवस्था कार्यालय मेचीमा सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच शुरु भएको छ । सवारी चालक अनुमति पत्रका लागि गरिदै आएको स्वास्थ्य जाँच माघ १ गतेबाट निःशुल्क गरिएको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख रुखदेव चुडालले जानकारी दिनुभयो । चुडालका अनुसार मेडिकलका लागि कार्यालयले टेन्डर आवाह्रान गरेकोे थियो, जसमा डा मनिष मित्तलले सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भन्दै आवेदन दिएपछि मेडिकल निःशुल्क भएको हो ।

सवारी चालक अनुमति पत्रका लागि गरिने मेडिकलका लागि गत महिना टेन्डर खुलाइएको थियो । जसमा डा मित्तलसहित डा अमित परियारले पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भन्दै आवेदन दिनुभएको थियो । उहाँहरुसहित १३ जनाले शुल्क लिएर मेडिकल गर्ने भन्दै आवेदन दिएको कार्यालयले जनाएको छ । ‘डा मित्तलले सेवाग्राहीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भन्दै रित पूर्वक निवेदन दिएपछि उहाँको निवेदनलाई सदर गरिएको हो ’– कार्यालय प्रमुख चुडालले भन्नुभयो ।

गत वर्ष एक सय ५० रुपैयाँमा सवारी चालक अनुमति पत्रका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण कार्यालय परिसरमै गरिदै आएको थियो । यस वर्ष पनि डा मित्तलले सेवाग्राहीको एक वर्षसम्म निःशुल्क स्वास्थ्य जाँच गर्ने भन्दै लिखित सम्झौता गरेपछि कार्यालयबाटै सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँचको सुविधा पाएका हुन् ।

यता गोदावरी डायग्नोष्टिक सेन्टर बिर्तामोडले ‘ब्लड ग्रुप’ पनि निःशुल्क छुट्याउने जनाएको छ । आजबाट एक वर्षसम्मका लागि सेवाग्राहीको निःशुल्क ‘व्लड ग्रुप’ छुट्याइने गोदावरी डायग्नोष्टिक सेन्टरका सञ्चालक वादल उप्रेतीले जानकारी दिनुभयो । भुपेन्द्र लिङ्देन ‘मन्त्री’संग सहकार्य गर्दै सामाजिक सेवा भाव राखेर ‘ब्लडग्रुप’ निःशुल्क गरिएको उप्रेतीले बताउनुभयो । यस अघि ब्लड ग्रुप छुट्याएको ५० रुपैयाँ शुल्क लिइदै आएको थियो । डा मिङ्कु झाले सेवाग्राहीको रगत परीक्षण (व्लडग्रुप) छुट्याउने बताइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित