जिल्ला अस्पताल ताप्लेजुङका एम्बुलेन्स चल्दैनन्, सेवाग्राही मारमा

ताप्लेजुङ / जिल्ला अस्पताल ताप्लेजुङमा सरकारको अनुदानमा रहेका दुई वटा एम्बुलेन्स लामो समयदेखि प्रयोग विहिन हुँदा सेवाग्राही मारमा परेकाछन् । दुई एम्बुलेन्स मध्ये एउटा वर्षौदेखि विग्रिएर थन्किएको छ भने भदौमा स्वास्थ्य सेवा विभागबाट आएको अर्को नयाँ एम्बुलेन्स अहिले सम्म चलाईएको छैन् ।

सरकारको अनुदानमा रहेको उक्त एम्बुलेन्स अस्पतालका अन्य काममा प्रयोग गर्ने गरिए पनि विरामी ओसारपसारमा भने प्रयोग भएको छैन । चालक नियुक्तिका लागि प्रदेश सरकारबाट समयमा सहमति पत्र नपाए पछि नयाँ एम्बुलेन्स चार महिनादेखि प्रयोगविहिन बनेको अस्पतालले जनाएको छ । यस्तै पुरानो एम्बुलेन्स भने मर्मत खर्चको अभावले वर्षौदेखि थन्किएको बताईएको छ । ‘अस्पताल आफैले करारमा चालक (कर्मचारी) नियुक्ति गर्न नमिल्ने र प्रदेशबाट कर्मचारी नियुक्ति सम्वन्धि अनुमति पत्र चाहिने भएकाले प्रयोग गर्न ढिलाई भएको हो, केहिदिन अघि निर्देशिका बने पछि अनुमति पत्र लिएका छौ, अब चाँडै नियुक्ति गरेर चलाउँछौँ’–अस्पतालका निमिक्त प्रमुख डा. सोनिङ लामाले भन्नुभयो ।

प्रदेशबाट कर्मचारी नियुक्ति सम्वन्धि निर्देशिका ढिलो पारित भएकाले समस्या आएको उहाँको भनाई छ । यता एम्बुलेन्स प्रयोगविहिन बने पछि भने सेवाग्राहीले चर्को मुल्य तिरेर व्यवसायिक संस्थाका एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । भएका एम्बुलेन्सलाई समयमा व्यवस्थित गरेर नचलाउँनु अस्पताल पक्षको लापरबाही भएको भन्दै स्थानीयले गुनासो गर्न थालेकाछन् । विभिन्न संघसंस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सलाई चर्को मुल्य तिरेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाई छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित