प्रदेश १ का सामुदायिक विद्यालयमा प्रविधिमैत्री कार्यक्रम

माेरङ / प्रदेश १ का सामुदायिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू गरिने भएको छ । कार्यक्रम संचालन गर्नका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालय र इक्वालिटी फाउण्डेसन अर्गनाइजेसनबीच बुधबार विराटनगरमा सम्झौता भएको छ । सम्झौता पत्रमा कार्यक्रम संचालन गर्न स्थानीय तहले पनि सहयोग गर्नु पर्ने उल्लेख छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै सामाजिक विकास मन्त्रालयका उपसचिव उपेन्द्र दाहाल र फाउण्डेसनका अध्यक्ष डा. ऋषि साहले १० वर्ष भित्र प्रदेशका सबै विद्यालयलाई पविधिमैत्री बनाइने घोषणा गरे ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलो चरणमा यसै वर्षबाट एक सय विद्यालयमा मात्रै यो कार्यक्रम लागू हुने जानकारी दिए । उनले प्रत्येक विद्यालयबाट विद्यार्थीले बोक्ने पुस्तक र झोला हटाउने उदेश्य कार्यक्रमको रहेको बताए । कम्प्युटरमैत्री शिक्षालाई प्रदेश व्यापी बनाउँदै कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने उनको दावी छ ।

छ करोड रुपैयाँ खर्चमा संचालन गरिने कार्यक्रममा सरकारले दुई करोड, फाउण्डेशनले दुई करोड, स्थानीय तहले एक करोड र सयवटा विद्यालयले एक करोड रुपैयाँ लगानी गर्ने सम्झौता पत्रमा उल्लेख छ । एउटा विद्यालयमा प्रविधिमैत्री कक्षा निर्माण गर्न अहिले छ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । एउटा विद्यालयमा प्रविधियुक्त कम्प्युटर ल्याब निर्माण गरेर त्यहाँ न्यूनतम आठवटा ल्यापटप, इन्टरनेट सेवा, अन्य प्रविधिमा आधारित सामानहरु राख्ने योजना रहेको फाउण्डेसनका अध्यक्ष साहले बताए । प्रदेश १ मा ६९ प्रतिशत विद्यार्थीहरु सामुदायिक विद्यालयमा अध्ययनरत छन् । कक्षा एक देखि १२ सम्म अध्ययनरत विद्यार्थीको संख्या १० लाख ६० हजार दुई सय ३७ रहेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित