बिरामीलाई म्याद गुज्रेको स्लाइन

सर्लाही / सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ । पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको आर एल स्लाइन पानी दिएको भेटिएको छ । सोमबार बिहान उपचार गराउन अस्पताल पुगेकी उषालगायत अन्य तीन जनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी चढाइरहेको भेटिएको हो ।

बिरामी परेपछि घरका व्यक्तिले अस्पताल पु¥याएको र पछि आफू जाँदा स्लाइन पानी म्याद गुज्रेको फेला परेको उहाँका छोरा साजन चौधरीले बताउनुभयो । तीन महीनापहिले नै म्याद गुज्रेका स्लाइन पानी चढाएको देखेपछि आफूले त्यसलाई तुरुन्त रोक्न लगाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म्याद गुज्रेको स्लाइनको प्रयोगले आमालाई घर लग्दा ज्वरो आयो ।” मलङ्गवामै रहेको एक निजी क्लिनिकमा आमालाई उपचार गराइएको उहाँले बताउनुभयो । अस्पतालजस्तो संवेदनशील स्थानमा लापरवाही गर्नेलाई कानूनअनुसार कार्बाही हुनुपर्ने उहाँले माग गर्नुभयो ।

बिरामीको चाप धैरे भएकाले सबैलाई एकैचोटि उपचार गर्न खोज्दा हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको अस्पतालका सुपरिटेण्डेण्ट वीरेन्द्रकुमार मण्डलले बताउनुभयो । भण्डारमा म्याद भएका र गुज्रेका औषधि एकै ठाउँमा रहेकाले हतारमा झिक्दा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको उहाँले जानकारी दिनुभयो । सो लापरवाही गर्नेलाई कारवाही गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित