उदयपुरमा जापान सरकारको ९० लाख सहयोगमा सुबिधा सम्पन्न आँखा अस्पताल बन्ने

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीमा आँखा अस्पतालको सुबिधा सम्पन्न भवन निर्माणका लागि जापान सरकारले सहयोग गर्ने भएको छ । आँखा अस्पतालको निर्माणाधिन भवनलाई निर्माण पुरा गरि सुबिधा सम्पन्न बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउत र जापानका राजदुत मासामिचि साईगो गत पुस १३ गते राजदुताबासको कार्यक्रममा सम्झौता भएको जानकारी दिएको छ ।

जापानको सहयोग प्राप्त भएसँगै सुबिधा सम्पन्न अस्पताल निर्माण हुने र यहाँ आँखाको अप्रेशन समेत गरिने जानकारी सभापति राउतले आईतवार निर्माणाधिन भवनमा पत्रकार भेटघाटका क्रममा सो कुरा बताएका हुन । यहाँका धेरै आँखा रोगीहरु भएकाले त्यसलाई मध्ये नजर गरि घरदैलोमा नै सेवा पु¥याउने हिसाबले सुबिधा सम्पन्न आँखा अस्पताल निर्माण गरिएको हो ।

निर्माणाधिन दुई तले भवनलाई पुरा गर्न जापान सरकारले ८१ हजार १ सय ९२ रुपैया नेपाली रुपैया करिब ९० लाख ५० हजार बराबरको सहयोग पत्रमा दुवै पक्ष बिच सम्झौता भएको सभापति राउतको भनाई रहेको छ । आँखा अस्पतालका लागि त्रियुगा नगरपालिकाले १० कठ्ठा जग्गा भोगाधिकार दिएको बताउँदै त्यसमा तत्कालिन माननिय सभाषद मन्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार बिकास कार्यक्रमबाट ४० लाख रुपैया र नेपाल सरकारबाट ५० लाख रुपैयाले २८ कोठाको भवन निर्माणाधिन रहेको बताए ।

सो निर्माणाधिन भवनलाई पुरा गर्न जापान सरकारले सहयोग गरेको सभापति राउतको टिप्पणी थियो । भवन निर्माण सम्पन्नपछि लाइन क्लब मार्फत अत्याधुनिक उपकरणहरु ल्याउने कोसिसमा रहेको औल्याए । नेपाल नेत्र ज्योति संघ उदयपुर र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा २०६५ सालदेखि त्रियुगा नगरपालिकाको भवनमा आँखा उपचार केन्द्र सञ्चालन हुदै आएकोमा हाल सम्म १ लाख २६ हजार ८ सय ३२ जना आँखा बिरामीले सेवा लिएको जानकारी दिए ।

जापान सरकारको सहयोगमा आँखा अस्पतालको पूर्वाधार तयार हुनेछ । अस्पतालको भौतिक पूर्वाधार निर्माण सम्पन्नपछि एक वर्ष भित्रमा आँखा उपचार केन्द्रबाट अप्रेसन गर्ने लक्ष्यका साथ काम गरिने सभापति राउतको भनाई रहेको छ । आँखा अस्पताल शारिरीक रुपमा असक्त ब्यक्ति, महिला तथा बालबालिका मैत्री हुने जानकारी दिए । अन्त्यमा नगरपालिकाले आँखा अस्पतालका निम्ति दिएको १० कठ्ठा जग्गा भित्र महिला सुरक्षाबास र गंगाजमुना सहकारी संस्था रहेको बताउँदै यसलाई अन्यत्र ब्यवस्थापन गर्न आग्रह गरे । पत्रकार भेटघाटमा सृजना दनुवारले स्वागत गरेको थियो भने सञ्चारकर्मि अमूर्त रेडियोका प्रबन्धक नबिन राईले सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित