झापा खुल्ला दिसामुक्त बन्दै

झापा / झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाका लागि प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि झापा जिल्लालाई यही पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकिएको छ । यसअघि पटक पटक मिति तय भए पनि, स्थानीय तह खुल्ला दिसामुक्त घोषणा हुन नसकेका कारण स्थगित हुँदै आएको थियो । मंसीर २७ गते मेचीनगर र हल्दिबारी एकैदिन खुल्ला दिसामुक्त घोषणासँगै झापाका सम्पूर्ण स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका थिए ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेशलाई अनुगमन र स्वीकृतिका लागि पत्राचार गरेको भए पनि अनुगमनमा ढिलाइ भएका कारण पौष १३ का लागि मिति तय गरिएको समितिले जनाएको छ । “प्रदेशबाट स्थलगत अनुगममन गरी खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृतिपत्र समेत पाइसकेका छौं”, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले भने, “हामीले हिजो पत्र पाउनासाथ जिल्लाको बैठक बसी पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भएको हो ।”

जिल्ला खुल्ला दिसामुक्त घोषणाको तयारीका लागि यसअघि नै विभिन्न उपसमिति गठन भै काम थालनी समेत गरिसकेका छन् । आधाररेखा सर्वेक्षणको क्रममा रहेका १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये सबै घरधुरीमा नै अहिले चर्पीको पहुँच भएको समितिले जनाएको छ । “सर्वेक्षणको क्रममा चर्पी बन्न बाँकी देखिएका ३९ हजार २ सय ८७ घरधुरीमा नै सुरक्षित चर्पीको पहुँच पुगेको छ”, पोर्तेलले भने ।

प्रदेश अनुगमन समितिले विद्यालय खानेपानी तथा सरसफाइलाई राष्ट्रिय निर्देशिका एवम् कार्यविधिअनुरुप सुधार गर्न र सार्वजनिक स्थलहरुमा शौचालयको प्रवन्ध गर्ने कार्यलाई स्थानीय तहको वार्षिक नीति कार्यक्रममा समावेश गर्न सुझाव दिएको छ । घोषणा समारोहमा झापाका सबै स्थानीय तहबाट साँस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकारहरुबाट गीत र प्रहसन प्रस्तुत गरिने समेत अध्यक्ष पोर्तेलले जानकारी दिए । सोही अवसरमा खुल्ला दिसामुक्त अभियानका सिकाइहरुको दस्तावेज र पूर्ण सरसफाइ मार्गदर्शन सार्वजनिक गर्नुका साथै खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति र क्षेत्रलाई सम्मान समेत गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित