यसरी ‘वयस्क’ बनाइन्छ नेपाली बालिका र बेचिन्छ

काठमाडौं / यौन व्यावसायमा आवद्ध रहेकी काठमाडौंकी ललिता (नाम परिवर्तन)को उमेर २१ पुग्यो । तर, उनले यो व्यावसाय १२ बर्षको उमेरदेखि नै गरेकी हुन् । सुन्दर शारिरीक बनोट भएकी उनी रेष्टुरेन्टमा वेटरको काम गर्दागर्दै यौन व्यावसायमा पनि संलग्न हुन थालिन् । सोही समयमा उनलाई साहुले जिउ दुख्दा वा थकित हुँदा रातो चक्की दिन्थे । उनलाई औषधिको नाम थाह हुँदैनथ्यो ।

‘म औषधि लिन्थे तर त्यसले मेरा शरिर, अंगहरू निक्कै वयस्क र आकर्षक बनाएको अनुभुति मैले पनि गरें’, उनले सुनाइन्,‘औषधिको बारेमा सोध्दा पछिमात्र थाहा भयो, यो हार्मोन बढाउने चक्की रहेछ ।’ बालिकालाई बयस्क देखाउनका लागि यौन व्यावसायीले ‘ग्रोथ हार्मोन’का विभिन्न उपाय अपनाउने गरेका छन् । प्रायः भारतका कोठी र नेपालका पनि यौन व्यावसाय चलाउने ठाउँमा चक्की, सिरिन्चको प्रयोगबाट ग्रोथ हार्मोनको प्रयोग गर्दै आएका छन् ।

आठ वर्षको उमेरमै तस्करीको माध्यमबाट भारत पुराइएकी एउटी नेपाली किशोरीले हरेक दिन रातो औषधि खुवाइएको संस्मरण सुनाएकी छन् । हरेक पटक औषधि सेवन गरेपछि बमिट हुने अनुभव उनले साटिन् । ‘मलाई त्यो रातो औषधि खान राम्रो लाग्दैन थियो तर मलाई जबरजस्ती गरिन्थ्यो र यदि मैलै अस्वीकार गरेको खण्डमा कुटपिट गरिन्थ्यो । उनीहरू मलाई भन्थे कि औषधि सेवन गरेपछि म चाँडै ठुलो हुनेछु र चाँडै घर फर्कने पाउनेछु’, उनले बीबीससँग यस्तो संस्मरण सुनाएकी थिइन् ।

उत्तरी नेपालको एउटा परिवारकी यी किशोरी आठ भाइबहिनीमध्ये सबैभन्दा जेठी सन्तान हुन् । उनलाई राम्रो शिक्षा दिने भनेर सानै उमेरमा झुक्याएर काठमाडौं ल्याइएको थियो, काठमाडौं हुँदै भारतसम्म पुराइयो । ती बालिकासँग चार जनाको परिवारका लागि घरेलु काम गराइन्थ्यो । दुई वर्षसम्म उक्त परिवारका साथ रहेपछि उनलाई कुनै अर्कै सहरमा पठाइयो । उनी भन्छिन्,‘त्यहाँ पनि म एउटा नेपाली परिवारका साथमा करिब दुई वर्षसम्म बसेँ । त्यही मलाई त्यो गलत औषधि दिन्थे । त्यसपछि उनीहरूले मलाई नराम्रो ठाउँमा बेचिदिए । म त्यहाँ सबैभन्दा सानी थिएँ ।’

६ महिनासम्म वेश्यालयमा राखिएकी ति युवतीलाई प्रहरीले उद्दार गरेको थियो । त्यो समयबीच उनलाई वयस्क देखाउनका लागि दबाबले दिइएको औषधीका बारेमा खुलासा गरेकी थिइन् ।
नेपालका गरिब र विपन्न परिवारका बालिकाको तस्करी गरी भारतसम्म पुराएर यौन व्यापारमा संलग्न गराउनका लागि यस्तो औषधिको प्रयोग गरिने खुलेको हो । माइति नेपालका निर्देशक विश्वम्भर खड्काका अनुसार तस्करहरूले कम उमेरका बालिकाहरूलाई भारतसम्म पुराउनुको रहस्य खोजीरहेका छन् । प्रहरीले पनि बालिका तस्करीको अचम्मको जालो निस्तेज पार्ने क्रममा यस्ता तथ्य फेला पारेको थियो ।

तस्करहरूले गरिब परिवारजनलाई बालिकालाई राम्रो शिक्षादिक्षा दिने सपना देखाएर प्रलोभनमा पार्ने गर्दछन् । तस्करको शिकार युवतीहरूको संस्था शक्ति समूहकी संस्थापक तथा निर्देशक सुनिता दनुवारका अनुसार उनले पनि यस्ता किशोरी देखेकी छन् जसलाई चाँडै तरुनी बनाउनका लागि हर्मोन दिने गरिएको छ । उनले बीबीसीसँगै सुनाएकी छन्,‘हामी बस्थ्यौ त्यहाँ एउटी युवतीलाई करिब दुई महिनाका लागि लगियो, जब उनी फर्किइन् तब उनी विचित्र ढंगले बढेकी थिइन् । उनको शरीर कुनै जवान युवतीकोजस्तो थियो र आवाज बच्चाको जस्तो थियो ।’

दनुवारका अनुसार आमरुपमा ९ देखि १२ वर्षका किशोरीलाई हर्मोन दिने गरिन्छ । डाक्टरहरूका अनुसार जुन किशोरीहरूलाई ग्रोथ हर्मोन दिइन्छ । उनीहरूको छाती र नितम्ब चाँडै ठुलो होस् भन्नका लागि यस्तो औषधि दिने गरिएको हो । जसका कारण उनीहरू चाँडै जवान देखिन्छन् ।
डाक्टर अरुणा उप्रेतीका अनुसार हर्मोन बालिकाहरूको शरीरलाई जवान गरिदिन्छ र उसका कारण उनीहरूको उमेरभरका लागि स्वास्थ्यसँग सम्बन्धित समस्या रहन्छ । यसबाट उनीहरूको हड्डी र गर्भाशयमा असर पर्दछ ।

उप्रेतीले सुनाइन्,‘भारतमा मैले निकै ठुलो स्तन भएकी एउटा युवती भेटेँ । उनले बताइन् कि उनलाई बाल्यकालमै तस्करी गरेर ल्याइएको थियो र बेश्यालयमा काम गराउनुअघि उनलाई ग्रोथ हर्मोन दिइएको थियो ।’

नेपाल प्रहरीको रिपोर्टमा पनि भारततिर तस्करी हुने बालिकाको संख्या उल्लेख्य गरेको छ । अन्य प्रयोजनका लागि नभई तस्करहरूले भारतमा वैधानिक रहेका कोठीका लागि नेपाली बालिकालाई लैजाने र ग्रोथ हार्मोनको प्रयोग बढाउने गरेका छन् ।

के हो ग्रोथ हार्मोन ?

ग्रोथ हाम्रोन मानव शरीरलाई तत्काल वयस्क देखाउन सक्ने औषधि हो । यो औषधिको प्रयोगले मानिसको कोषहरू फुल्छन् । यसलाई सोमाटोट्रोफिनका नाममा पनि चिनिन्छ । यसको प्रयोगले कोषको पुर्ननिर्माण, पुर्नविकासको काम हुन्छ । ग्रोथ हार्मोन १९१– एमिनो एसीड हो । यसले ग्लुकोज र फ्याट बढाउने काम पनि गर्छ । यो शरिरीविकासमा कमजोर भएका बालबालिका र युवा युवतीमा हार्मोन विकासका लागि डाक्टरको सल्लाहका आधारमा मात्र प्रयोग हुने गरेको छ । अन्यथा, कानुनतः मान्यता दिइँदैन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित