माया मारिसकेकी श्रीमती बाँचेपछी दंग दिलबहादुर

मोरङ / उपचार गर्ने पैसा नहुँदा श्रीमतीको मृत्यु प्रतिक्षा गर्न बाध्य बनेका मोरङको पथरीशनिश्चरेका दिलबहादुर धिमाललाई अहिले भने यो पीडा हटेको छ । बिरामी भई ओछ्यानमै थला परेकी श्रीमती पिच्वी धिमाललाई उपचार गर्न पैसाको जोहो गर्ने कुनै उपाय नहुँदा श्रीमती माया मार्नुको विकल्प भेटेनन् दिलबहादुरले । ‘उपचार गर्ने पैसा नभएकाले मैले त श्रीमतीलाई माया मारिसकेको थिए ।’ दिलबहादुरले भने ‘सुनिल सरले हामीमाथि उपकार गर्दिनाले श्रीमतीको ज्यान जोगियो ।’ बिरामी श्रीमतीलाई उपचार गर्न नसकेर तड्पिरहेको अवस्थामा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उनीहरुलाई साथ दिएर पीडामा मलम लगाईदिएका हुन्् । उनीहरुको दयनीय अवस्था थाहा पाएर उद्धारका लागि डा.शर्मा बिरामीको घरमै पुगेका थिए ।

प्रष्टसँग बोल्नसमेत नसक्ने पिच्वी करिव एक वर्ष अघिदेखि हात खुट्टा नचल्ने र पिसावको समस्याका कारण थला परेकी थिईन् । उठ्नसमेत नसक्ने अवस्थामा पुगेकी उनलाई फोहोरका कारण सुतेको ठाउँमा झिँगाले घेरेको थियो । अर्काकोमा ज्याला मजदुरी गरेर बृद्ध अवस्थामा कष्टपूर्ण तरिकाले जीविकोपार्जन गर्दै आएका उनीहरुसँग उपचार गर्नका लागि पैसा थिएन ।

स्थानीय सामुदायिक वन व्यवस्थापन समितिले बनाएको टहरोमा जीविका चलाउँदै आएका बृद्ध दम्पतीको अवस्था अत्यन्तै दयनीय थियो । रोगले थलिएको महिनौ बितिसक्दासम्म पनि पैसा नभएका कारण उपचार गर्न नसकेको थाहा पाएर सहयोग गरेको डा.शर्माले बताए । बिरामीलाई नोबेल अस्पतालसम्म ल्याउन स्थानीय मुराहरी आचार्य लगायतले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

नोबेलमा ल्याएर धिमाललाई निःशुल्क उपचार गर्ने मात्र नभएर निःशुल्क औषधि र बिरामीसहित कुरुवालाईसमेत खानाको व्यवस्था पनि डा.शर्माले नै मिलाईदिएका हुन् । उपचार गर्ने पैसा नभएर बिरामी श्रीमतीलाई माया मारिसकेका दिलबहादुर एक पैसा पनि खर्च नगरी श्रीमती निको भएपछि अहिले खुःशीले दंग छन् । समाजसेवी डा.शर्मा पिच्वी जस्ता सयौं बिरामीलाई निःशुल्क उपचार गरेर गरिव, बिपन्न तथा असहायको सारथी बनेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित